काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आर्थिक कूटनीति र जनस्तरसम्मको सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएकी छन् ।
काठमाडौंमा आयोजित ‘अनररी कन्सुलर कोर नेपाल (एचसीसीएन)’ को १८औँ वार्षिक साधारणसभा तथा चार्टर डे समारोहलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको बहुआयामिक सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतहरूले खेलेको भूमिकाको प्रशंसा गरिन् ।
उनले भनिन्, ‘नेपाल र तपाईँहरूले प्रतिनिधित्व गर्ने मुलुकहरूबिचको सम्बन्ध सुदृढ गर्नुका साथै व्यापार, शिक्षा, संस्कृति र जनस्तरको अन्तरक्रियामा तपाईँहरूको योगदान अनिवार्य र प्रशंसनीय छ ।’
मन्त्री राणाले साझा समृद्धिको युगमा द्विपक्षीय सहकार्यलाई अझ मजबुत बनाउनु आवश्यक रहेको उल्लेख गर्दै भनिन्, ‘व्यापार प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण, अन्तर्राष्ट्रिय पहुँच विस्तार र नेपालको छवि प्रवर्द्धनजस्ता विषयमा तपाईँहरूको सक्रिय भूमिका जरुरी छ ।’
कार्यक्रममा एचसीसीएनका डिन तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरू केवल औपचारिक प्रतिनिधि मात्र नभई नेपालको आर्थिक कूटनीतिमा सक्रिय साझेदार भएको बताए ।
उनले भने, ‘आजको युगमा आर्थिक कूटनीति अब वैकल्पिक होइन, अपरिहार्य विषय बनेको छ । हामी सेरेमोनियल भूमिकाबाट बाहिर निस्किएर अब राष्ट्रको विकास र कूटनीतिमा प्रभावकारी ढंगले लागिरहेका छौँ ।’
ढकालले एचसीसीएन राष्ट्रिय प्राथमिकताप्रति समर्पित रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयको सहकार्यमा नेपालमै पहिलोपटक आर्थिक सम्मेलन आयोजना गर्न महासंघ र एचसीसीएनले तयारी गरिरहेको जानकारी पनि दिए ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, विभिन्न देशका अवैतनिक वाणिज्यदूत, कूटनीतिक नियोगका प्रतिनिधिहरू, उद्योगी व्यवसायी लगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया