स्थानीय सरकारलाई ब्युँझाउन जरुरी छ : सांसद पाण्डे

लोकपथ
189
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले यसलाई प्रभावकारी बनाउनु अत्यन्त जरुरी रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघ र प्रदेश सरकार जनताबाट टाढा रहेको तर स्थानीय सरकार भने प्रत्यक्षरूपमा जनताको जीवनसँग जोडिएको भएकाले यसको सक्रियता र प्रभावकारिता अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।
‘संघ सरकार भनेको टेलिभिजनबाट देखिने सरकार हो, प्रदेश सरकार भने हामी नजिकै एउटा सरकार छ रे भनेर सुन्ने सरकार हो,‘उनले भने, ‘तर स्थानीय सरकार भनेको घरमा मान्छे मर्दा कात्रो किन्न पैसा नपुगे जनताले पालिकाको प्रमुखको घुँडामा टाउको राखेर रुन पाउने सरकार हो ।’

उनले हाल स्थानीय सरकारहरु कति प्रभावकारी छन् भन्ने प्रश्न उठाउँदै त्यसको समुचित अनुगमन र मूल्यांकन गर्नुपर्नेमा जोड दिए । ‘स्थानीय सरकारलाई हामीले अलि ब्युँझाउने प्रयास गरेका छैनौँ,‘ उनले भने, ‘त्यहाँ रहेका जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गरेका छन् कि छैनन्, भन्ने कुरा हेर्न केन्द्रका नेताहरुले पनि बेलाबेलामा निरीक्षण गर्नुपर्छ ।’

पाण्डेले स्थानीय सरकारको भूमिका केवल बजेट खर्च गर्ने होइन, जनताको पीडा बुझ्ने र समाधान दिने मूल निकायका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?