लेनदेनमा मुछिएका मन्त्रीलाई काखी च्यापेका ओलीले भने– ‘भ्रष्टाचार गर्न दिन्न’

लोकपथ
1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारका विरुद्धमा आफूले बोल्दै आइरहेको बहुचर्चित भनाइ पुनः दोहोर्याएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै प्रधानमन्त्रीले ओलीले आफू नेतृत्वको सरकार सुशासनमा प्रतिबद्ध रहेको दाबी गरे ।

साथै ओलीले आफू भन्ने गरेको ‘म भ्रष्टाचार पनि गर्दिन र गर्न पनि दिन्न’ भन्ने भनाइलाई दोहोर्याए ।

नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सरकारले सुशासनको पक्षमा के काम गरिरहेको छ भन्दै प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी सबै दृढ र प्रतिबद्ध छौँ । यद्यपि केही मानिसहरुको फेसन हुने गर्दछ, प्रधानमन्त्रीलाई अलिकति लान्छाना नलगाइ नहुने त्यस्तै मानिसहरुले कहिले पित्तल चढायो भनेर हल्ला गर्छन्, अहिले पनि छानबिन होस् भनेर कराउँछन् ।

त्यस्ता कुराहरुप्रति म वास्ता गर्दिन र चित्त पनि दुखाउँदिन् किनभने त्यो ह्याबिटको कुरा भयो मान्छेको । ह्याबिटको कुरामा मान्छे धेरै गइरहन चाहन्न,’ प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै उनले तीनै तहका सरकारको सार्वजनिक पदमा बसेका मन्त्रीदेखि पदाधिकारीहरुमाथि प्रश्न उठेमा कारबाहीको दायरामा ल्याउने गरेको दाबी गरे । साथै कसैमाथि गम्भीर प्रश्न उठेमा आफूले शून्य सहनशीलताको नीति लिने गरेको दाबी गरे । तर कसैले फेसबुकमा लेखेकै आधारमा र आरोप लगाएकै आधारमा चाँही कारबाही नहुने भन्दै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको बचाउ गरे । मन्त्री अधिकारी लाखौँ लेनदेनमा मुछिएका छन् । पोखराको एक जग्गा हत्याउन एमालेकै विचौलियामार्फत् मन्त्री अधिकारीको नाम जोडिएको अडियो सार्वजनिक हुँदा समेत प्रधानमन्त्री ओलीले कुनै कदम नचालेको भन्दै आलोचना भइरहेको छ ।

‘मान्यजीले उठाउनु भएको तीनै तहका सरकारको सार्वजनिक पदमा रहेका व्यक्ति वा पदाधिकारी कानुनी दायरा भन्दा बाहिर छैनन् । कहीँ कतै आर्थिक बिचलन र अनुचित व्यवहार देखिएमा कानुन बमोजिम कारबाही भइरहेको छ । अर्को कुरा म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न । अलि गम्भीर आशंका हुने खालका वा गम्भीर प्रश्न उठेका खण्डमा मैले असहिष्णुताको नीति लिनै पर्छ त्यहाँनेर । अथवा भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति लिनैँपर्छ । अथवा हल्ला केही चल्यो, अथवा कसैले केही बोल्यो, अथवा कहीँ कतै छपायो, अथवा फेसबुकमा स्ट्याटस लेख्यो । त्यसकैको आधारमा कारबाही हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा छ,’ उनले भने ।

त्यस्तै आफू नेतृत्वको सरकारले स्वदेशमै रोजगारी दिने प्रशस्त आधारहरु खडा गरेको समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?