पूर्वराष्ट्रपतिलक्षित सांसद खतिवडाको टिप्पणी : ‘सर्वोच्च पदमा पुगेको व्यक्ति वडा अध्यक्ष बन्न तम्सिनु हुन्न’

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अनुचित भएको धारणा राखेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सर्वोच्च पदमा पुगिसकेका व्यक्तिले त्यो पदको गरिमा जोगाउनुपर्ने बताए । उनले भने, ‘सर्वोच्च पदमा पुगेको व्यक्ति फेरि वडा अध्यक्ष बन्न तम्सिनु हुँदैन । पदको गरिमा र सन्देशलाई ध्यान दिन जरुरी छ । सरकारको ध्यान जानुपर्छ ।’

खतिवडाले पूर्वराष्ट्रपति भण्डारीको नाम स्पष्ट रूपमा नलिए पनि उनको टिप्पणीले संकेत स्पष्ट थियो । उनले पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्किन नहुने तर्क राख्दै त्यसले संवैधानिक पदहरूको गरिमा कमजोर पार्न सक्ने बताए ।

त्यसैगरी, खतिवडाले खानेपानी मन्त्री प्रदीप यादवको भूमिकामाथि पनि कटाक्ष गरे । उनले मधेसमा खानेपानीको चरम अभाव रहेको भन्दै एक महिनादेखि मन्त्री संसदमा नदेखिएको बताए ।

‘मधेसमा गाग्री बोकेर मान्छेहरू सडकमा ओर्लिने अवस्था आएको छ,‘उनले भने,‘संघीय संसदमा खानेपानी मन्त्रालय छ भन्ने थाहा त छ तर मन्त्री एक महिनादेखि हराएको सूचना प्राप्त छ। मन्त्रीलाई संसदमा बोलाएर समस्याबारे जानकारी दिन रुलिङ दिन सभामुखसँग माग गर्दछु ।’

सांसद खतिवडाले सरकारलाई जनसमस्याप्रति गम्भीर बन्न र संवैधानिक पदधारीहरूको आचरणमा ध्यान दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?