उषाकिरण भण्डारी लेख्छिन्– ‘हामीलाई एमालेप्रति नैतिक समर्थन समेत गर्न नसक्ने ठाउँमा पुर्याइँदैछ’

लोकपथ
4.7k
Shares

काठमाडौं । मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरन भण्डारीले एमालेको पछिल्लो निर्णयबारे आपत्ति जनाएकी छन् ।

सोमबार र मंगलबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा थप अप्ठेरो पार्ने निर्णय गरेको थियो । सो निर्णयबारे सामाजिक सञ्जालमा लेख्दै भण्डारीकी छोरी समेत रहेकी उषाकिरणले प्रतिक्रिया जनाएकी हुन् ।

उनले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिन रोक्न एमालेभित्र ठूलो तिकडम र चलखेल भएको भन्दै आपत्ति जनाइन् ।

‘तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीँ अच्चमित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनले भनेकी छन् ।

त्यस्तै उनले पुष्पलालको परिवार नेकपा एमालेप्रति नैतिक समर्थन समेत देखिने गरी बाहिर प्रस्तुत नहुने गरेकोबारे समेत टिप्पणी गरेकी छिन् । एमालेभित्रको चरम व्यक्तिवादी चरित्रका कारण पुष्पलालको परिवार त्यो तहसम्म पुगेको रहेछ भन्ने ज्ञान आफूलाई भएको र आफूहरुलाई समेत त्यो तहसम्म पुर्याउन खोजिएको बताइन् ।

‘आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग !! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार cpn uml नैतिक समर्थन गर्न पनि देखिने गरि प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनीति गर्न मन छैन भनेपनि सधैँ देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु , टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोसिस गरियो । तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन् । र नैतिक समर्थन खोज्दैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यस कारण यो प्रकरणलाई धन्यवाद,’ उनले भनेकी छन् ।

गत असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको सदस्यता नविकरण गरेर सक्रिय राजनीतिमा आउन लागेको घोषणा गरेकी थिइन् । त्यसपछि एमालेभित्र तरंग पैदा भएको थियो, मंगलबार सम्पन्न बैठकले भण्डारीलाई सम्मानित ठाउँमा बस्न भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?