सांसद प्रभु साहको टिप्पणी : ‘देउता भेट्न सजिलो, परराष्ट्रमन्त्री भेट्न गाह्रो’

लोकपथ
189
Shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले परराष्ट्र मन्त्रालयप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबारको संसद बैठकमा बोल्दै उनले देवता भेट्न सजिलो तर परराष्ट्रमन्त्री भेट्न गाह्रो भएको टिप्पणी गर्दै सरकारको उदासिनताप्रति आक्रोश व्यक्त गरे ।

उनले रौतहटका जयप्रकाश साह नामक नेपाली नागरिक झन्डै एक वर्षदेखि युक्रेनमा अलपत्र परेको उदाहरण दिँदै पीडितको उद्धारमा सरकार र सम्बन्धित निकायहरुले चासो नदेखाएको आरोप लगाए ।

‘जयप्रकाश जस्तै सयौं नेपालीहरू युक्रेनमा फसेका छन् । उनीहरूको पीडामा सरकार किन मौन छ ?,‘ भन्दै सांसद साहले प्रश्न उठाए । पीडित परिवारहरू पटक–पटक सरकारी कार्यालय चहार्दा पनि उनीहरूका गुनासो बेवास्ता गरिएको उनको भनाइ थियो ।

त्यसैगरी, सांसद साहले देशभर विद्युत आपूर्ति अव्यवस्थित ढंगले बन्द–सञ्चालन भइरहेको विषयमा पनि सरकारको आलोचना गरे ।

‘सरकारको व्यवस्थापनमै समस्या छ । बिजुली बिना तालिका काटिन्छ, बत्ति झ्यापझ्याप गइरहेको छ । यस्तो लापरवाही किन?, भन्दै उनले सरकारलाई सेड्युलअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गर्न आग्रह गरे ।

सांसद साहका अनुसार यस्ता समस्याले जनताको राज्यप्रति विश्वास घटाउँदै लगेको छ। उनले सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न र नागरिकको पीडाप्रति संवेदनशील बन्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?