सांसद मोदीको प्रश्न– ‘जगदुल्ला जलविद्युत् आयोजनामा फर्जी कागजात पेस गर्ने कम्पनीलाई ठेक्का कसरी ?’

लोकपथ
385
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्का कसरी दिइयो भनी प्रश्न गरेका छन् । बुधबार सिंहदरबारमा बसेको र्साजनिक लेखा समितिको बैठकमा सांसद मोदीले सो प्रश्न गरेका हुन् ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (जेसीई) ले फर्जी कागजात पेस गरी ठेक्का पाएको विषयमा छलफल भएको हो ।

सांसद मोदीले ठेक्का प्राप्त गर्न जेसीईरएएनकेले पेस गरेको अनुभवसम्बन्धी कागजातप्रति शंका व्यक्त गरे । उनले भने, ‘अनुसूची ५ मा मिति र सही छैन, फोटो मात्र बाँधको छ, अन्य संरचना–सुरुङ, पावरहाउस आदि छैनन् ।’

जेसीईरएएनके जेभीले चिनियाँ कम्पनी हेजाउ साङचेङ इलेक्ट्रिक पावरसँग ९० मेगावाटको आयोजना निर्माण गरेको भन्दै कागजात पेस गरे पनि हेजाउले आफ्ना कागजातहरू नक्कली रूपमा प्रयोग गरिएको भन्दै आधिकारिक पत्रमार्फत आपत्ति जनाइसकेको छ ।

सांसद मोदीले जीआईएसपीएमअनुसार पेस गरिएको कोअर्डिनेट गुगल र एप्पल म्यापमा मिल्दो नआएको भन्दै आधारभूत जाँचसमेत नगरेको भन्दै प्राविधिक मूल्यांकन समिति र व्यवस्थापनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए ।

‘साधारण जाँच नगरी नक्कली कागजलाई मान्यता दिइएको देखिन्छ,‘ मोदीले भने, ‘यसबाट प्रमाणित हुन्छ कि देशमा व्यापक रूपमा भ्रष्टाचार र कमिसनको खेल चलिरहेको छ । काम नगरेका कम्पनीहरूले ठेक्का पाइरहेका छन् ।’

आयोजना निर्माणका लागि आवेदन दिएका चार कम्पनीमध्ये सिनो हाइड्रो पावर र जेसीईरएएनके सर्टलिस्टमा परेका थिए । तर सिनो हाइड्रोले योग्यता नपुगेको जेभी सर्टलिस्टमा परेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको थियो ।

करीब २३ अर्ब लागत अनुमान गरिएको उक्त आयोजना १६ अर्ब ऋण र ७ अर्ब स्वपुँजीबाट निर्माण गर्ने योजना छ । हाल उक्त आयोजना संसदको सार्वजनिक लेखा समिति, अख्तियार र अदालतमा परेको उजुरीका कारण अगाडि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?