काठमाडौं । बंगलादेशको राजधानी ढाकामा सोमबार भएको वायुसेनाको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ, जसमध्ये २५ जना बालबालिका रहेका छन् ।
दुर्घटनामा विमानका पाइलट र एक महिला विद्यालय शिक्षिकाको पनि ज्यान गएको बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकारका स्वास्थ्य तथा परिवार कल्याणका लागि विशेष सहायक मोहम्मद सयदुर रहमानले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका कम्तीमा ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताएका छन् । तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको समेत रहमानले जानकारी दिए । सरकारले घटनाप्रति दुःख व्यक्त गर्दै एक दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।
बंगलादेशको अन्तर सेवा जनसम्पर्क निर्देशनालयका अनुसार नियमित प्रशिक्षण उडानमा रहेको बंगलादेश वायुसेनाको विमान ढाकाको कुर्मितोलास्थित खान्डाकर एयर बेसबाट सोमबार दिउँसो १ः०६ बजे उडेको थियो । उडेको केही समयमै विमान एक दुईतले विद्यालय भवनमा ठोक्किएको थियो । दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको बंगलादेश वायुसेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया