काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार जनताको हितमा ‘कमिलोसम्म पनि मार्न नसकेको’ भन्दै कडा टिप्पणी गरेका छन् ।
बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले सत्तामा रहेका दुई ठूला दललाई ‘हात्तीजस्ता’ पार्टीको संज्ञा दिँदै जनतामुखी काममा पूर्णतः असफल भएको आरोप लगाए ।
खनालले पछिल्ला दिनमा एकपछि अर्को गर्दै उजागर भइरहेका भ्रष्टाचार काण्डहरूको उल्लेख गर्दै, भ्रष्टाचारले देशको हरेक क्षेत्र कब्जा गरेको बताए । उनका अनुसार, ‘भ्रष्टहरुले देशमा शासन गरिरहेका छन्, जबसम्म भ्रष्टाचार उन्मूलन गर्न सकिँदैन, तबसम्म जनताले आफ्नो हक पाउँदैनन् ।’
विदेश पलायन र लाश फर्कने अवस्थालाई दुःखद् यथार्थका रूपमा चित्रण गर्दै उनले भने, ‘हरेक दिन २५ सय नेपाली विदेशिन्छन्, र ५ जनाको शव बाकसमा फर्किन्छ । यही हो बहुदलीय जनवादको उपलब्धि रु यही हो पुँजीवादी जनवादले देखाएको प्रगति ?’
उनले नेपाली कम्युनिष्ट आन्दोलन एक निर्णायक मोडमा आएर भड्किएको उल्लेख गरे । खनालले ०६२-०६३ को आन्दोलनलाई ‘पुँजीवादी जनवादी क्रान्ति’ को रूपमा मात्र परिभाषित गर्दै नयाँ जनवादको स्थापना हुन नसक्नु नै वर्तमान संकटको जड रहेको बताए ।
खनालको धारणा अनुसार, देशको राजनीति गम्भीर संकटमा छ र यो संकट समाधान गर्न जनमुखी, भ्रष्टाचारमुक्त र समाजवादी दिशातर्फ लाग्ने नेतृत्व आवश्यक छ ।
उनका भनाइले सत्तारूढ दलहरूबीचको असन्तोष र बढ्दो जनआक्रोशको संकेत दिएको विश्लेषकहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया