निराशा होइन, अनुशासनका साथ अघि बढौँ : माधव नेपाल

लोकपथ
119
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै बाँकी रहेको बताएका छन् ।

बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले चुनौतीहरूप्रति निराश नहुन आग्रह गर्दै त्यसको सामना गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

‘चुनौती आए भनेर पलायन हुनुपर्ने होइन,अध्यक्ष नेपालले भने, ‘सही विचार, संगठनात्मक निर्माण र आन्दोलनको मोर्चामा उत्रिनु आवश्यक छ । त्यस्तो आँट र सामर्थ्य भए विचार पनि प्रष्ट हुन्छ र संगठनलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ ।’

उनले पार्टीभित्रका आन्तरिक विषयहरू बैठकमै छलफल गर्नु उपयुक्त हुने उल्लेख गर्दै जनवादी केन्द्रियताको सिद्धान्त नै वैज्ञानिक र व्यवहारिक रहेको दाबी गरे ।

पार्टी अनुशासनविपरीत जथाभावी अभिव्यक्ति दिनेहरूप्रति चेतावनी दिँदै उनले भने, ‘पार्टीविरुद्ध निराशा फैलाउने, अनुशासन तोड्ने प्रवृत्तिको प्रतिवाद आवश्यक छ । पार्टी अनुशासनमा अघि बढे जनतामा विश्वास र आशा जगिन्छ ।’

अध्यक्ष नेपालले समाज परिवर्तन र रुपान्तरणको जिम्मेवारी अझै पनि आफूहरूकै काँधमा रहेको भन्दै समाजवादको लक्ष्य सफल पार्ने दायित्वप्रति प्रतिबद्धता जनाए ।

उनको भनाइमा, ‘समाजवादको ध्येय र उद्देश्यलाई पूरा गर्नु हाम्रो कर्तव्य हो । त्यसको लागि आन्दोलन र वैचारिक स्पष्टतासहित अघि बढ्नुपर्ने समय हो ।’

कार्यक्रममा अन्य नेताहरूले पनि पुष्पलालको योगदान स्मरण गर्दै वर्तमान राजनीतिमा विचार र अनुशासनको महत्वमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?