काठमाडौं । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा पूर्वभूमि व्यवस्थामन्त्री, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ पनि ‘बिचौलिया’ को भूमिकामा संलग्न रहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको पनि बयान लिने तयारी गरिरहेको छ ।
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबिच भएको घूस ‘डिल’ प्रकरणमाथि अख्तियारले अनुसन्धान गर्ने क्रममा श्रेष्ठको पनि संलग्नता देखिएको अख्तियारको दाबी छ ।
पूर्वमन्त्री गुप्ता र उनीसँग घूस ‘डिल’ गर्ने लामासँग अख्तियारले मंगलबार बयान लिएको थियो । त्यस क्रममा दुवै जनाको आवाज परीक्षणका लागि ‘रेकर्ड’ गराइएको थियो । त्यसो त अख्तियारले केही दिनअघि नै सार्वजनिक भएको अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएको थियो । त्यहाँ सक्कली भएको पुष्टि भएको थियो ।
अख्तियारले हिजो भने अडियो दोहोरो परीक्षण गर्नका लागि गुप्ता र लामाको आवाज रेकर्ड गराएको हो ।
सार्वजनिक भएको अडियोमा एक महिला र बिचौलिया लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग भूमि व्यवस्थामन्त्री बलराम अधिकारीको समेत नाम उच्चारण गर्दै घूस ‘डिल’ गरेको सुनिन्छ । घूस ‘डिल’ मा संलग्न महिला पूर्वमन्त्री श्रेष्ठ नै रहेको दाबी गरिएको छ । त्यही कारण उनलाई पनि बोलाउने तयारी रहेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार पूर्वमन्त्री श्रेष्ठलाई पनि अडियोमा सुनिएको आवाजसँग मेल खान्छ/खाँदैन भनेर दोहोरो परीक्षणका लागि बोलाइन लागिएको हो ।
मालपोत कार्यालय र भूमि समस्या समाधान आयोग प्रमुखमा अनुकूलका व्यक्तिलाई पदस्थापन गराएर लिची बगानको जग्गा हडप्ने प्रपञ्च रचेको गिरोहका लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग गरेको घूस ‘डिल’ को अडियो केही दिनअघि सार्वजनिक भएको थियो । सो प्रकरण चर्किएपछि गुप्ताले असार ३१ गते नै राजीनामा दिइसकेका छन् ।
जग्गा प्रकरणमा पूर्वमन्त्री गुप्ता, श्रेष्ठका साथै हालका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वसचिव अर्जुन पोखरेल र बिचौलिया लामा मुछिएका छन् । भूमिसुधार मन्त्री अधिकारीले भने आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्दै राजीनामा दिएका छैनन् ।
यस्तै पूर्वभूमिसुधारमन्त्री श्रेष्ठले पनि यो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्दै आइरहेकी छिन् । तर अख्तियारले गरेको अनुसन्धान र पछिल्ला दिनमा आइरहेका सूचना भने उनको जिकिर भन्दा फरक खालको छ ।
श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधित्व गर्दै १७ चैत २०७९ देखि २१ फागुन २०८० सम्म भूमि व्यवस्थामन्त्री थिइन् ।
अख्तियारका एक अनुसन्धान अधिकारीका अनुसार श्रेष्ठले आफू मन्त्री रहेकै बेला जग्गा हडप्ने योजना बुनेकी थिइन् । तर सफल भइनन् । त्यसपछि आफूपछि भूमि व्यवस्थामन्त्री बनेका अधिकारी र संघीय मामिलामन्त्री गुप्तासम्म बिचौलिया लामाको पहुँच विस्तार गराई आफू पनि यस खेलमा संलग्न रहिन् ।
जग्गा हत्याउने खेलकै क्रममा कास्की मालपोत र भूमि समस्या समाधान आयोग कास्कीमा आफू अनुकूलका व्यक्ति लैजान श्रेष्ठ र लामाले पटक–पटक प्रयास गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।
यस्तै, राजीनामा दिएका मन्त्री गुप्ताले रकम लिएका व्यक्तिसँग नै पूर्वमन्त्री श्रेष्ठले पैसा मागेको प्रमाण पनि सार्वजनिक भइरहेको छ । अडियो रेकर्ड गर्ने पोखराका व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटक–पटक सम्पर्क गरेको र पैसासमेत मागेको खुलेको छ । यसका लागि निजी सुरक्षा अधिकृत (पीएसओ) समेत प्रयोग गरेको पाइएको छ ।
अख्तियार स्रोतका अनुसार, पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग फोनमा म्यासेज गरेर, ‘…..जी, पशुपति पूजामा छु, क्यास चाहिएको छ । ड्राइभरलाई लिन पठाइदिऊँ ?’ भनी म्यासेज लेखेको भेटिएको छ ।
यस्तै पूर्वमन्त्री श्रेष्ठले अर्को म्यासेजमा ‘नरिवलको तेल एउटा लिन पठाइदिनुस् न, मन्त्रीज्यूलाई चाहियो’ भनेर म्यासेज लेखेको भेटिएको छ ।
तर पूर्वमन्त्री श्रेष्ठले आफूमाथिको आरोप प्रतिवाद गर्दै कसैसँग पनि पैसा नमागेको जिकिर गर्दै आएकी छिन् । उनले भनेकी छिन्, ‘…….सँग न मेरो चिनाजान छ, न कहिल्यै सम्पर्क भएको छ, चिन्दै नचिनेको मान्छेसँग पैसा माग्ने कुरै हुँदैन ।’
उनले पोखराको जग्गाको विषयमा आफूलाई कहिल्यै जानकारी नभएको, त्यस विषयमा आफूले थाहा पनि नपाएको भन्दै पोखराका ती व्यक्ति र मन्त्री गुप्तासँग समेत आफ्नो कुनै कुराकानी र भेटघाट नभएको जिकिर गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया