काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले सरकारले एक वर्षको समय खेर फालेको भन्दै अर्को वर्षका लागि तयारी गर्न सुझाव दिए ।
मंगलबार अपरान्ह भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सो कुरा बताए ।
‘कांग्रेस र एमाले मिलेर बनेको यो सरकारले जुन लाभ प्राप्त गर्नुपर्ने हो त्यसमा हामी नराम्रोसँग चुकेका छौँ,’ उनले भने, ‘केपी ओलीले सरकारको नेतृत्व गरिराख्नुभएको छ, हामी त्यसको साझेदार छौँ । मेरो चिन्ता एक वर्ष खेर गइसक्यो, अर्को एक वर्ष खेर नफालौँ ।’
त्यस्तै उनले सरकार गठनको एक वर्षको प्रारम्भमा उत्साहपूर्ण काम गरे पनि त्यसपछि निरन्तर काममा चुकेको बताए । साथै सरकार टिक्नु नै ठूलो कुरा देखेका कारण अन्य सुधारका कामहरु हुन नसकेको उनको आरोप रहेको छ ।
, ‘हामीले एक वर्षको प्रारम्भमा राम्रो गर्यौँ। सुरुमा उत्साह पनि थियो, सुधारको प्रयास पनि गर्यौँ हामीले । त्यसपछि हामी सरकार टिक्नु नै खुसीको कुरा हो भनेर आनन्दले बस्यौँ । जसले गर्दा हाम्रो पछिल्लो ६–७ महिना त उपलब्धिहीन नै बन्यो । एक वर्ष जस्तो गर्नुपर्नेथ्यो त्यसमा हामी चुक्यौँ। कसैलाई दोषी दिएर हुँदैन ।’
त्यस्तै आगामी वर्ष नयाँ कामका लागि केन्द्रदेखि प्रदेशसम्मका मन्त्रीहरु फेरेर समेत अघि बढ्नुपर्ने उनको सझुाव रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया