रास्वपा र राप्रपासँग सभामुखको छलफल, भने– ‘दुई दलको कारण मलाई अप्ठेरो भयो’

लोकपथ
4.4k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले कानुनमन्त्री अजयकुमार चौरासियासहित विपक्षी दलहरुसँग छलफल गरेका छन् ।

सभामुख घिमिरेले मंगलबार दिउँसो कानुनमन्त्री चौरसियासहित भिजिट भिसा प्रकरणमा संसदमा निरन्तर संघर्ष गरिरहेका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका हुन् । उनले रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ ।

‘भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारबाहीमा सहभागी हुनुभएको छैन । सरकार र तपाईंहरूबिच संवाद हुन नसक्दा त्यसको असर संसदमा परेको छ । सभामुखकारुपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु । मेरो ठाउँमा अरु कोही सभामुख भए पनि संसद चलाउनुपर्ने बाध्यतात्मक स्थिति छ,’ सभामुखले भनेका थिए, ‘सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको छ । तर हाउस निरन्तर अवरोध हुँदा ती विधेयकको अवस्था के हुन्छन्, यसतर्फ सबैले सोच्न जरुरी छ । संसद चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । तपाईंहरूको सैद्धानिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन । तर, संसदीय गतिविधि प्रभावित भएको छ ।’

त्यस्तै कानुनमन्त्री चौरासियाले सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति नै बनाएर अघि बढेको भन्दै संसदलाई निर्वाध रुपमा चल्ने वातावरण बनाउन आग्रह गरे ।

‘सरकारले छानबिन समिति बनाएर काम सुरू गरेको छ, त्यो पनि प्रमुख विपक्षी दलको सहमतिमा नै । सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन,’ उनले भने, ‘रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ । एउटा सहमतिको बिन्दुमा पुग्न तपाईंहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ ।’

त्यस्तै रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले आफूहरुले उठाएका मुद्दा गम्भीर रहेको भन्दै सरकारले त्यसलाई तादरुकता देखाउनुको साटो आलटाल गर्न खोजेको आरोप लगाए । साथै संसदको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले खेलेको भूमिकाप्रति प्रशंसा गरे ।

‘सभामुखले सहमतिका लागि निरन्तर पहल गर्नुभएको छ । धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो,’ उनले भने, ‘हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् । यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी देखाएको छ ।’

त्यस्तै राप्रपाका उपाध्यक्ष तामाङले भिजिट भिसा प्रकरणबारे सरकारले गम्भीरता नदेखाएको आरोप लगाए । साथै सरकारले बनाएको छानबिन समितिले के काम गरिरहेको छ भन्ने समेत संसदलाई जानकारी नदिएको समेत बताए । त्यसो त सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा बनाएको छानबिन समितिप्रति नै आक्रोश व्यक्त गरे ।

‘भिजिट भिसा प्रकरणमा हामीले मुद्दा उठान गरिसकेका छौं । तर, विपक्षी दल बिना सहमति फर्कन सक्ने अवस्थामा छैनन् । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । बैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसदलाई जानकारी दिएको छैन,’ उनले भने ।

रास्वपा र राप्रपाले गत जेठ १३ गतेबाट निरन्तर संसदमा अवरोध गरिरहेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक नै मुछिएको आरोपसहित दुई दलले विरोध जनाउँदा संसदको कामकारबाही समेत प्रभावकारी ढंगले अघि बढ्न सकिरहेको छैन । भोलि प्रतिनिधि सभा बैठक बस्दैछ, भोलिका बैठकमा समेत दुई दलको अवरोध हुने संकेतपछि सभामुखले सहमतिका लागि छलफल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?