चाक्सीबारी बैठकको निष्कर्ष सुनाउन कांग्रेसका ५ नेता देउवा निवासमा

लोकपथ
966
Shares

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन समूहका ५ पूर्व पदाधिकारीहरु सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

केहीबेरअघि ५ पूर्व पदाधिकारीहरुले सभापति देउवालाई भेटेका हुन् ।

जसमा उपप्रधानमन्त्री समेत रहेका प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, विजयकुमार गच्छादार र गोपालमान श्रेष्ठ रहेका छन् । अन्य पदाधिकारीहरु विमलेन्द्र निधि र डा. शशांक कोइराला भने बैठकमा छैनन् ।

त्यसो त सोमबार सिंह निवास चाक्सीबारीमा ७ नेताहरुको बैठक बसेको थियो । पार्टीको आगामी १५औँ महाधिवेशनमा सर्वसम्मत रुपमा उम्मेदवार चयनका लागि छलफल गरेका थिए । यसअघि पनि ७ नेताहरु निरन्तर छलफलमा जुटिरहेका थिए ।

सोमबारको बैठकले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष समेत निकालिएको थियो ।

सरकार गठन हुँदा ७ बुँदे सहमति भएको र त्यसको राम्रोसँग कार्यान्वयन हुन नसकेको भन्दै नेताहरुले पार्टी सभापतिलाई ध्यानाकर्षण गराउने बताएका थिए । साथै आगामी १५औँ महाधिवेशनमा संस्थापन समूहबाट सर्वसम्मत रुपमा नेतृत्वका लागि उम्मेदवार चयन गर्ने भन्ने सन्दर्भमा समेत छलफल भएको थियो । सरकार सञ्चालनदेखि पार्टीसम्मका विषयको सन्देश लिएर नेताहरु बुढानिलकण्ठ पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?