काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटबारे केन्द्रीय कमिटीलाई जानकारी गराएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले भेटबारे नेताहरुलाई जानकारी गराए ।
ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग सबैकुरा खुला रुपमा राखेको र सरकारले गरेका काम, एमालेमाथि भइरहेका प्रहार, विधान अधिवेशनको बारेमा आफूले कुरा गरेको बताए ।
त्यस्तै राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनुहुन्छ की हुँदैन ? भन्ने विषयमा आफ्नो तर्फबाट भइरहेका अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको जानकारी गराए ।
पार्टी सदस्यतका विषयमा पनि कुनै विवाद गर्नुपर्ने विषय नरहेको र केन्द्रीय कमिटीले यसबारेमा निर्णय गर्ने जानकारी गराए ।
उनले भने, ‘हिजो पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति बीचको भेटघाटको प्रसंग पनि छ । पूर्वराष्ट्रपतिज्युको आग्रहमै १०औँ वर्ष पार्टी अफिसमा म जान सकिरहेको छैन, हेरेको छैन भनेर पार्टी अफिसमै गरौँ भन्ने सल्लाह बमोजिम भेट भयो । भेटका क्रममा सबै कुरा खुलस्त ढंगले प्रस्तुत भएको छ, राष्ट्रिय राजनीति कसरी अघि बढेको छ, नेकपा एमालेमाथि कसरी प्रहार भइरहेको छ, एमालेमाथि प्रहार गर्ने तत्वहरु कसरी सल्बलाइरहेका छन् ? भन्नेदेखि सरकारले गरेका कामहरु, विधान अधिवेशनको तयारीका सन्दर्भमा एकअर्कामा खुला रुपमा छलफल भएको कुरा भन्नुभयो । राष्ट्रपति राजनीतिमा आउनुहुन्छ कि हुँदैन भन्ने विषय पार्टी अध्यक्षले आफ्नो तर्फबाट चलिरहेका अभ्यासका बारेमा पार्टीका तर्फबाट स्पष्ट दृष्टिकोण राख्नुभएको छ । पार्टी सदस्यतका विषयमा पनि कुनै विवाद गर्नुपर्ने विषय रहेन, केन्द्रिय कमिटीले निर्णय गर्दछ भनेर भन्नुभयो ।’
प्रचार विभाग प्रमुख गौतमकाअनुसार अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी कार्यालयमै भेट्नुको कारण भण्डारीले आफूले १० वर्ष भन्दा बढी समय पार्टी कार्यालय नगएकाले पार्टी कार्यालयमै भेट्न आग्रह गरेपछि च्यासलमै भेटेको जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया