काठमाडौं । नेपाली कांग्रेसका संस्थापन समूहका ७ पूर्व पदाधिकारीहरुको बैठक सकिएको छ ।
सोमबार दिउँसो उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बसेको थियो । उक्त बैठकमा आगामी १५औँ महाधिवेशनमा संस्थापन पक्षबाट नेतृत्वका लागि साझा उम्मेदवार कसरी छनोट गर्ने भन्ने विषयमा छलफल भएको थियो । बैठकपछि बोल्दै कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता कृष्णप्रसाद सिटौलाले समसामयिक विषयमा छलफल भएको र सरकारको काम कारबाहीका विषयमा छलफल भएको बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग गर्दै उनले वर्तमान गठबन्धन सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको र अझै प्रभावकारी बनाउन आफूहरुले पहल गर्ने निष्कर्ष निकालेको बताए । त्यस्तै सरकारको कामका विषयमा कांग्रेसको तर्फबाट नेतृत्व गर्दै सरकारमा सामेल भएका उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराएको बताए । साथै सिंहले छिट्टै प्रधानमन्त्रीलाई सो विषयमा जानकारी गराउने निर्णय भएको समेत बताए । साथै आफूहरुले पनि त्यस विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर त्यस विषयमा ध्यानाकर्षण गराउने बताए ।
‘सरकारले जनताको हितमा प्रभावकारी ढंगले काम गर्न सक्नुपर्छ भनेर नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका उपप्रधानमन्त्री प्रकाशमानजीलाई हामीले भनेका छौँ । उहाँले प्रधानमन्त्री समक्ष कुरा राख्छु भन्नुभएको छ,’ उनले भने, ‘ नेपाली कांग्रेस पार्टीले र हामी सबैले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने गरी विभिन्न बहस र छलफल गराउनुपर्छ भनेर हामीले छलफल गरेका छौँ । यो समग्र विषयमा जे जति छलफल भयो । हामी हाम्रो सभापतिजीलाई भेटेर हाम्रो सभापतिजीलाई हामी जानकारी गराउँछौँ ।’
त्यस्तै वर्तमान गठबन्धन सरकार आगामी ०८४ को निर्वाचनसम्म नै जाने विश्वास समेत व्यक्त गरे ।
आजको बैठकमा पूर्व पदाधिकारीहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छादार, डा. शशांक कोइराला र डा. प्रकाशशरण महत रहेका थिए ।
सिटौलाले बैठकपछि भने :
आजको बैठकमा देशको समसामयिक राजनीतिका विषयमा छलफल भयो । सरकारले जनताको हितमा प्रभावकारी ढंगले काम गर्न सक्नुपर्छ भनेर नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका उपप्रधानमन्त्री प्रकाशमानजीलाई हामीले भनेका छौँ । उहाँले प्रधानमन्त्री समक्ष कुरा राख्छु भन्नुभएको छ । गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सकोस् आजको हाम्रो यो मान्यता रहेको छ । साथै संविधानको कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने भन्ने सरकारको नीति तथा कार्यक्रममा पनि छ र हाम्रो पार्टीले पनि निर्णय गरेको छ । सरकार बन्दाखेरी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको समझदारीमा मुख्य बुँदा अनुसार कार्य अगाडि बढिराखेको छैन । त्यसलाई पनि अगाडि बढाउनुपर्छ र त्यसको लागि नेपाली कांग्रेस पार्टीले र हामी सबैले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने गरी विभिन्न बहस र छलफल गराउनुपर्छ भनेर हामीले छलफल गरेका छौँ । यो समग्र विषयमा जे जति छलफल भयो । हामी हाम्रो सभापतिजीलाई भेटेर हाम्रो सभापतिजीलाई हामी जानकारी गराउँछौँ । हाम्रो मान्यता के हो भने यो गठबन्धनको सरकार हो, र गठबन्धन सरकारको भावना अनुसार सरकारले काम गर्नुपर्छ र यो गठबन्धन ०८४ को निर्वाचनसम्म नै जान्छ । जाने गरी विश्वासका साथ सरकारले अझ बढी राम्रोसँग काम गरोस् भन्ने कामना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया