काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पुरानो र मूल्यहिन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सो कुरा बताएका हुन् ।
महामन्त्री थापाले अहिले पार्टीको मुख्य चुनौती नै पुरानो र थोत्रो खराब हो र मूल्यहिन हो भन्नेकुरालाई चिर्नु रहेको बताए ।
त्यस्तै समाजमा स्थापित गर्न खोजिएको कांग्रेस पुरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको बताउँदै कांग्रेस पुरानो हुनुमा आफूलाई गर्व रहेको बताए ।
कांग्रेसले देशमा धेरै परिवर्तन ल्याएको र योगदान गरेको बताए ।
‘आज नेपाली कांग्रेस अगाडिको प्रश्न र चुनौती भनेकै पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो भनेको सबैभन्दा मूल्यहिन भन्ने ढंगबाट समाजमा जबरजस्त जुन नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ । त्यसबाट नेपाली कांग्रेस बाहिर निस्किएर आउनुपर्नेछ । हामीलाई पुरानो भएकोमा गौरव छ,’ उनले भने, हामीलाई आफ्ना धेरै परम्पराहरुमा गौरव छ । यो मुलुकमा, यो धर्तीमा त्यही पुरानो नेपाली कांग्रेसले थुप्रै कुरा ल्याएको छ, योगदान गरेको छ, हाम्रो नेतृत्वमा भएको छ । तर हामी सँगसँगै नयाँ जमानाको, नयाँ समाजका कुरालाई सिक्न पनि तयार छौँ । सुन्न पनि तयार छौँ । ग्रहण गर्न पनि तयार छौँ । आफूलाई नयाँ कुराको लागि तयार हुन पनि तयार छौँ । पुराना जुन राम्रा कुरा छन् त्यसलाई जोगाउँछौँ, नयाँ कुरा थप्दै जान्छौँ । नयाँ ज्ञानको खोजि गर्दछौँ, नयाँ नयाँ ढंगले विवेचना, मिमांशा गर्दछौँ । आजको समाजको समाधानलाई इतिहासको चेत राखेर पुरानो कुराबाट पनि हेर्छौं, २००७, २०४६, २०६२ को चर्चा गर्दछौँ, त्यो आन्दोलनको चश्माले पनि हेर्दछौँ । सँगै आजको समाजलाई आजकै युगको चेतनाका आधारमा बुझ्ने प्रयास गर्दछौँ र भोलिका निम्ति बाटो देखाउने प्रयास गर्दछौँ भन्ने काँग्रेस बनाउनुपर्छ ।’
महामन्त्री थापाले कांग्रेसमा थप बहस, थप छलफल, पठनपाठनको संस्कृति आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया