विमानस्थल अध्यागमन कार्यालयमा ४५ नयाँ शाखा अधिकृत खटाइए, पुराना गृहमा फिर्ता

लोकपथ
560
Shares

काठमाडौं । अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आज सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए । 

‘लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिमपश्चात् आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ,’ उनले सोमबार भने, ‘अध्यागमन कार्यालयमा प्रमुखका रूपमा आउनुभएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ ।’

विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सुरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन् ।

केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो ।

त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही संख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ । 

‘विमानस्थलबाट आएका अधिकृतहरूको मन्त्रालयमा दरबन्दी मिलान हुन्छ,’ गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, ‘दरबन्दी भन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालय मार्फत बाहिर पठाउने काम हुन्छ ।’

उनले दरबन्दीअनुसार मात्रै मन्त्रालयले अधिकृतहरू राख्ने बताए । 

त्यस्तै सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रस्तुत गर्ने लगायत कार्यादेश दिइएको छ । समिति अहिले कार्यादेशअनुसार काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?