एमाले केन्द्रीय कमिटी बैठक सुरु हुँदै, बोल्नलाई ३ मिनेट समय

लोकपथ
413
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक अहिले केहीबेरमा सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने भएको छ ।

बैठकको सुरुवातमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्तव्य राख्ने भएका छन् । ओलीले समसामयिक राजनीतिक, सरकारको एक वर्ष र पार्टीको सचिवालय र पोलिटब्युरो बैठकका निर्णयका सन्दर्भमा मन्तव्य राख्ने भएका छन् । 

बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको सांगठनिक अवस्थाका बारेमा जानकारी गराउने छन् । 

यस्तै, विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।

प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ ।

केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यको भूमिकामा मात्र रहेकाहरूले बोल्न पाउने छन् ।  

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २ सय ३० जना केन्द्रीय सदस्य रहेका छन् । 

भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?