वर्षासँगै बढ्दै छ डेंगुको जोखिम, न्यूनीकरणका लागि के गर्दैछ सरकार ?

तथ्यांकले भन्छ, साउन सर्वाधिक डेंगु लाग्ने महिना

काठमाडौं । वर्षातको समय आउने बित्तिकै मनमा उब्जने एउटा डर हो, डेंगुको । किनभने डेंगुको संक्रमणले ज्यानै लिने जोखिम निकै कम हुने भएपनि यसले पार्ने असर भने निकै पीडादायक हुने गरेको छ । डेंगु लागेमा प्रतिरक्षा प्रणाली कमजोर बनाई पूरा शरीर कमजोर मात्रै पार्दैन, डेंगु निको भएको लामो समयसम्म पनि थकाइ, आलश्यता र कमजोरी रहिरहन्छ । त्यसकारण पनि डेंगुलाई सामान्य रोग वा समस्याका रूपमा मात्रै लिन सकिँदैन । 

डेंगु यसकारण पनि खतरनाक छ कि यसले घर परिवार, छिमेक वा कार्यालयमा कार्यरतलाई छिटो संक्रमित बनाउन सक्छ । किनभने यो सरुवा रोग हो र यो लामखुट्टेको टोकाइबाट हुने गर्छ । गर्मी तथा वर्षातको मौसममा लामखुट्टेको टोकाइसँगै यसको संक्रमण पनि बढ्ने गर्छ । 

के हो डेंगु, कसरी हुन्छ संक्रमण ? 

डेंगु एडिस एजिप्टी र एडिस एल्बोपिक्टस नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । कुनै व्यक्तिलाई डेंगु भइसकेको छ र यदि त्यस्ता व्यक्तिलाई एडिस जातको पोथी लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित बन्छ । अर्थात् उक्त पोथी लामखुट्टेमा डेंगुको भाइरस जान्छ । त्यसपछि त्यही संक्रमित लामखुट्टेले अर्को स्वस्थ व्यक्तिलाई टोकेमा उक्त भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ र ती व्यक्तिलाई पनि डेंगु संक्रमण हुन सक्छ । 

त्यसैगरी दुर्लभ अवस्थामा रगतको माध्यमबाट पनि डेंगु संक्रमण हुन सक्छ । जस्तो कि संक्रमित व्यक्तिले रक्तदान गरी अर्का व्यक्तिले रगत ग्रहण गरेमा, अंगदानको अवस्थामा र गर्भवती आमाबाट बच्चामा समेत डेंगुको संक्रमण हुन सक्छ । 

नेपालमा डेंगुको अवस्था

सन् २०२५ को सुरुवात अर्थात् गत पुसको मध्यदेखि हालसम्मको अवधिमा देशका ७३ जिल्लामा डेंगु संक्रमण देखिइसकेको छ । 

जाडो मौसममा डेंगु संक्रमण केही कम हुने गरेको भएपनि गर्मी र वर्षा लागेसँगै यसको संक्रमण बढ्ने गर्छ । किनभने वर्षातका तीन महिना अर्थात् असार, साउन र भदौ महिनामा पानी धेरै पर्ने र विभिन्न स्थानमा पानी जम्ने भएका कारण ती स्थानमा लामखुट्टेले फुल पार्ने भएकाले यो मौसममा डेंगुको संक्रमण बढ्न थाल्छ । वर्षामा अत्यधिक वर्षा हुने र पानी जम्ने ठाउँहरू बढ्ने भएकाले यस्ता स्थानहरू लामखुट्टे प्रजननको आदर्श स्थल बन्छन् । यसले गर्दा विशेषगरी साउन र भदौ महिनामा डेंगुको संक्रमण उच्च हुने गरेको पाइन्छ । यसको अर्को मुख्य कारण भनेको अव्यवस्थित पानीको निकास पनि हो । 

पहिले गर्मी ठाउँ वा तराईका जिल्लाहरूमा मात्र डेंगुको प्रकोप देखिने गरेकामा अहिले भने पहाडसँगै हिमाली भेगमा पनि देखिन थालिसकेको छ । यसको मुख्य कारण भनेको जलवायु परिवर्तनका कारण तापक्रममा आएको वृद्धि पनि हो ।     

असार, साउन र भदौ महिनामा पानी धेरै पर्ने र विभिन्न स्थानमा पानी जम्ने भएका कारण ती स्थानमा लामखुट्टेले फुल पार्ने भएकाले यो मौसममा डेंगुको संक्रमण बढ्न थाल्छ ।  

गत वर्ष अर्थात् सन् २०२४ मा देशभरमा डेंगुको संक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने कुल ४१ हजार ८ सय ४५ जना संक्रमित भएका थिए । गत वर्ष बागमतीमा २ हजार ४ सय ५३, कोशीमा १ हजार २७, मधेसमा १ सय २७, सुदूरपश्चिममा ५ सय ४ र गण्डकीमा ४ हजार ५ सय ३९ जनामा डेंगुको संक्रमण देखिएको थियो । गत वर्ष सबैभन्दा धेरै बागमती र गण्डकी प्रदेशमा डेंगुको संक्रमित भेटिएका थिए । 

७३ जिल्लामा फैलियो डेंगु

यस वर्षको हालसम्मको अवधिमा पनि ७३ वटा जिल्लामा डेंगुको संक्रमण देखिसकेको छ । सन् २०२५ को जुलाई २० तारिखसम्मको अवधिमा बागमती प्रदेशको रसुवा, गण्डकी प्रदेशको मनाङ तथा कर्णाली प्रदेशको हुम्ला र डोल्पा जिल्ला मात्रै डेंगु संक्रमणबाट बचेको देखिन्छ । गएको जनवरीदेखि हालसम्म देशभर २ हजार ४७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । हालसम्मको तथ्यांक हेर्दा मधेस प्रदेशमा डेंगुका १३ जना मात्र संक्रमित भेटिएका छन् भने पहाडी जिल्ला गोरखामा ५२ जना, संखुवासभामा ४३ जना, बझाङमा २० जना र रामेछापमा १५ जना रहेका छन् ।

बागमती प्रदेशका जिल्लाहरूमा ४ सय ६० जनामा यसको संक्रमण देखिएको छ भने गण्डकीमा ५ सय ४४, कोशीमा ३ सय ७६, लुम्बिनीमा ३ सय ३०, सुदूरपश्चिममा २ सय ५६, मधेसमा ३८ र कर्णालीमा ३७ जनामा देखिएको छ । 

यस वर्ष पनि बागमती र गण्डकी प्रदेशमा डेंगुको संक्रमण बढी देखिएको छ । बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित संघीय राजधानी काठमाडौंमै भेटिएका छन् । काठमाडौंमा २ सय १० जनामा संक्रमण पुष्टि हुँदा चितवनमा ७३, भक्तपुरमा ३१ तथा ललितपुरमा २८ जनामा संक्रमण पाइएको छ ।  गण्डकी प्रदेशको कास्की जिल्लामा मात्रै १ सय ७२ जनामा संक्रमण भेटिएको छ भने तनहुँमा १ सय ६ र लमजुङमा ७४ जना संक्रमित बनेका छन् । 

बागमती र गण्डकी प्रदेश बढी जोखिममा

गत वर्ष र यो वर्षको पनि हालसम्मको तथ्यांक हेर्ने हो भने बागमती र गण्डकी प्रदेश नै डेंगुको मुख्य केन्द्र रहँदै आएको देखिन्छ । बागमतीका काठमाडौं उपत्यका, चितवन, धादिङलगायतका जिल्लाहरू बढी जोखिममा रहँदा गण्डकीका कास्की, तनहुँ, लमजुङ र गोरखा जिल्ला बढी प्रभावित हुने गरेको छ । 

डेंगु नियन्त्रणमा सरकारको चासो

जल तथा मौसम विज्ञान विभागले गर्त वर्षको तुलनामा यो वर्ष धेरै पानी पर्ने भनेपछि सरकारले डेंगु खोज र नष्ट अभियान नै चलाएको छ । 

डेंगु नियन्त्रण तथा रोकथामका लागि केन्द्रीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु ‘खोज र नष्ट गर्नुहोस्‘ भन्ने अभियान सुरु गरेको छ । 

यसमा लामखुट्टेका प्रजनन स्थलहरू पहिचान कसरी गर्ने तथा रोकथाम कसरी गर्ने भन्ने सम्बन्धमा जानकारी दिई नष्ट अभियान चलाएको छ । यसका साथै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपालस्थित कार्यालय र नेमत नेपालको सहकार्यमा सरकारले ‘डेंगु जागरूकता अभियान’ पनि सञ्चालन गरेको छ ।

युवा नेतृत्वमा आधारित यस सचेतना कार्यक्रममा स्थानीय सरकार

सरकारसँग समन्वय गर्दै घर–घरमा जनचेतना फैलाउने कार्यक्रम र सरसफाइ अभियान सञ्चालन गरिरहेको छ । युवाहरूको उक्त समूहका १ सय जना सदस्यले डेंगु खोज र नष्ट गर अभियान चलाइरहेका छन्, जहाँ युवाहरू डेंगु संक्रमण फैलाउने लामखुट्टेको लार्भा रहने स्थानको खोजी गर्दै नष्ट गर्ने अभियानमा लागिपरेका छन् । साउन महिनामा डेंगुको जोखिम धेरै बढ्ने भएकाले साउनलाई डेंगु महिनाको रूपमा घोषणा गरिएको छ । 

डेंगु संक्रमणका लक्षण

यदि कसैलाई एक्कासि ज्वरो आउने र ज्वरो १ सय डिग्री फरेनहाइट भन्दा बढी आउन थाल्यो र रोकिन समय लाग्ने वा कम नहुने भयो भने त्यो डेंगुको संक्रमित हुन सक्छ । यस्तो ज्वरो ५ देखि ७ दिनसम्म आउन सक्छ र ज्वरो १०४ डिग्रीसम्म पनि आउन सक्छ । डेंगु लागेको व्यक्तिमा प्लेटिलेट्स घट्न जान्छ र प्लेटिलेट्सको कमीका कारण रोग प्रतिरोधात्मक क्षमतामा कमी आउन थाल्छ । जसका कारण डेंगु लागेका बिरामी अति कमजोर हुने गर्दछन् । 

लामखुट्टे सामान्यतः १० देखि ४० डिग्री सेल्सियससम्मको तापक्रममा बाँच्न सक्दछ भने यिनको जीवनचक्र ७–१० दिनमा पूरा हुन सक्छ । यिनीहरूको जीवनचक्र छिटो पूरा हुने भएकाले संक्रमण फैलाउने क्षमता पनि उच्च हुन्छ र वयस्क अवस्थामा २ देखि ४ हप्तासम्म बाँच्न सक्छ । डेंगु सार्ने लामखुट्टेले पहिलो पटक रगत खाएको २ देखि ३ दिनभित्र अण्डा दिने गर्छ र प्रत्येक अण्डाको दिनचक्र ३ देखि ५ दिनको अन्तरालमा हुन्छ । यसले एकपटकमा ५० देखि १ सय वटा अण्डा बनाउन सक्छ भने डेंगु सार्ने लामखुट्टेले आफ्नो जीवनकालमा ३ देखि ५ पटकसम्म अण्डा दिन सक्छ । अण्डाबाट लार्भा उत्पादन हुन भने पानीको गुणस्तर तापक्रमअनुसार फरक पर्ने गर्छ । सामान्य अवस्थामा लार्भा ४ देखि १४ दिनसम्म बाँच्न सक्छ । यस्ता लार्भाहरू अनुकूल   तापक्रममा सामान्यतया ४ देखि ७ दिनमै प्युपामा परिवर्तन हुन्छन् ।

डेंगुबाट बच्न के गर्ने ?

डेंगु रोग आफैँमा अति जटिल प्रकृतिको रोग त होइन, तर यसको संक्रमण भइहाल्यो भने व्यक्तिलाई अति कमजोर भने बनाउनेछ । साना साना कुराहरूमा ध्यान दिन सकियो भने डेंगुको संक्रमणबाट बच्न सकिन्छ । व्यक्तिगत सरसफाइ र सावधानी अपनाउन सकिएमा यसबाट बच्न सकिन्छ । 

डेंगुबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको शरीर पूरै ढाक्ने कपडाको प्रयोग गर्नु पनि हो । घर वरिपरि रहेको खाल्टोमा पानी जम्न नदिने, घरमा सधैँ झुलको प्रयोग गर्ने, लामो समयसम्म घर बाहिर नबस्ने र आफ्नो घरको ट्यांकी छोपेर र नियमित रूपमा सरसफाइ गर्नाले यस्ता लामखुट्टेका लार्भा हुर्कन पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?