काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग निर्णायक खेल खेल्दैछ । नेपाली समय अनुसार साँझ ६:३० बजे बंगलादेशको ढाकास्थित किङ्स एरेनामा नेपाल र आयोजक टिम बंगलादेशबीच उपाधि भिडन्त हुँदैछ।
नेपाललाई उपाधि जित्न आजको खेलमा जित अनिवार्य छ, भने अपराजित यात्रा तय गरिरहेको बंगलादेशलाई बराबरी भए पनि उपाधिका लागि पर्याप्त हुनेछ ।
नेपालले लिग चरणमा शानदार प्रदर्शन गर्दै भुटानविरुद्ध ६–१ र ८–० तथा श्रीलंकाविरुद्ध दुई खेलमै ७–० को फराकिलो जित दर्ता गरेको थियो। तर, बंगलादेशविरुद्ध भने नेपाल ३–२ गोल अन्तरले पराजित भएको थियो ।
पाँचमध्ये चार खेलमा जित निकाल्ने नेपाल गोलअन्तरमा ६ गोलले बंगलादेशभन्दा अघि छ, तर अघिल्लो पराजयका कारण अंक तालिकामा पछि परेको छ । पाँचै खेल जित्दै बंगलादेश शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहेको छ ।
अबको खेलमा जित निकाल्न सके नेपालले गोलअन्तरको बलमा उपाधि चुम्नेछ, अन्यथा उपाधि बंगलादेशकै पोल्टामा जानेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया