काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिचको हालै सम्पन्न छलफल सकारात्मक रहेको बताएका छन् । ओली र भण्डारीबिचको छलफल पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको थियो ।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कर्ण थापाले भेटवार्तापछि सकारात्मक र सुखद् समाचार सुनिने विश्वास व्यक्त गरे । उनले अहिले पार्टीभित्र फैलिएको विवाद समाधान नहुने अवस्थामा पुगेको भन्ने प्रचार गलत भएको पनि स्पष्ट पारे ।
पार्टीको पोलिटब्युरो बैठकमा नेताहरूले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच सघन छलफल गरी भण्डारीको सक्रिय राजनीतिमा फिर्ता आउने वा नआउने विषयमा स्पष्टता दिनुपर्ने सुझाव दिएका थिए ।
कर्ण थापाका अनुसार, ‘पार्टीभित्र जुन विवाद र द्वन्द्व छ, त्यसले समाधान नहुने अवस्थामा पुगेको हो भन्ने चर्चा सही होइन । पोलिटब्युरो र सचिवालयका बैठकहरूमा धेरै कमरेडहरूले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कने कि नफर्कने विषयमा अध्यक्ष र भण्डारीबिच सघन छलफल गरी सहज निकास निकाल्न सुझाव दिएका थिए ।’
यसैबिच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पहिले नै एमाले पार्टी सदस्यता नविकरण गरिसक्नुभएको पनि बताइएको छ । यसले पार्टीभित्रको राजनीतिक वातावरणमा थप सकारात्मक संकेत दिने आशा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया