एमाले उपाध्यक्ष पाण्डेको दाबी : ‘दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण भइसक्यो’

लोकपथ
2.8k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता दुई वर्षअघि नै नविकरण भइसकेको स्पष्ट पारेका छन् ।

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबिचको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार करिब एक वर्षअघि बसेको सचिवालय बैठकमा एमाले महासचिव शंकर पोखरेलले भण्डारीको सदस्यता नविकरण भइसकेको जानकारी गराइसकेका थिए । पाण्डेले भने, ‘महासचिव पोखरेलले सचिवालय बैठकमै सदस्यता नविकरण भएको बताएका थिए, र अध्यक्ष ओलीले पनि त्यसमा सहमति जनाउनुभएको थियो ।’

त्यसैगरी, पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष ओलीले यस विषयमा छुट्टै छलफल गरेर निष्कर्ष निकाल्ने बताएका थिए । ‘अध्यक्षले बैठकको अन्त्यमा भने, ‘यो विषय बैठकको एजेन्डा होइन, उहाँसँग अलग बसेर टुंगो लगाउँछु, ‘ पाण्डेले भने ।

उनका अनुसार पूर्वराष्ट्रपति भण्डारी स्वयंले पनि दुई वर्षअघि नै आफ्नो सदस्यता नविकरण गरिसकेको बताएकी थिइन् ।

यसअघि भण्डारीको पार्टी सक्रियता र सदस्यताबारे सार्वजनिक रूपमा प्रश्न उठिरहेको बेला उपाध्यक्ष पाण्डेको स्पष्टीकरणले यस विषयमा पार्टीभित्रको धारणा प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?