मिडिया काउन्सिल स्वतन्त्र, स्वायत्त र जिम्मेवार हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

लोकपथ
91
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई स्वतन्त्र, स्वायत्त र जिम्मेवार संयन्त्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले काउन्सिललाई सरकारसँग पूर्णरूपमा अलग राख्न नसकिने स्पष्ट पारे ।

उनका अनुसार मिडिया काउन्सिल स्वतन्त्र र स्वायत्त भए पनि सञ्चार क्षेत्र सरकारसँग केही न केही रूपले जोडिनुपर्ने हुन्छ । ‘स्वतन्त्र संयन्त्र आवश्यक छ, तर सरकारले कुनै सन्दर्भमा जोडिनु पनि पर्ने भएकाले त्यसलाई पूर्णरूपमा अलग राख्न सकिँदैन,’ उनले भने ।

मन्त्री गुरुङले सञ्चार क्षेत्रमा अनुशासन र मर्यादा आवश्यक रहेको भन्दै सोही उद्देश्यले स्वतन्त्र संयन्त्र विकास गर्न विधेयक ल्याइएको बताए। उनले सञ्चार माध्यमको मर्यादा कायम राख्न मिडिया काउन्सिललाई सशक्त बनाउने आवश्यकता औँल्याए ।

त्यसैगरी, उनले सामाजिक सञ्जालको प्रयोगमार्फत भइरहेका साइबर अपराधप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा १९ हजार ७३० वटा साइबर अपराधसम्बन्धी उजुरी प्रहरीको साइबर ब्यूरोमा दर्ता भएका छन् ।

‘त्यसमध्ये ५० प्रतिशतभन्दा बढी उजुरी बैंकिङ कारोबारसँग सम्बन्धित छन्, ‘मन्त्री गुरुङले बताए । उनले सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि छुट्टै विधेयक संसदमा दर्ता गरिएको जानकारीसमेत दिए ।

उनका अनुसार नयाँ विधेयकमा कुन खालका अपराधमा कस्तो कारबाही गरिने भन्ने स्पष्ट व्यवस्था गरिएको छ र त्यसको अध्ययन गर्नसमेत आग्रह गरे ।

यसैबीच, राष्ट्रिय सभाबाट पारित भइसकेको मिडिया काउन्सिल विधेयकमाथि समितिले सैद्धान्तिक छलफल सकाएको छ । अब समितिले सोमबार र मंगलबारका बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग विस्तृत छलफल गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?