सुवेदी र लावतीपछि राप्रपा उपाध्यक्षबाट हटाइएका गिरी पनि निर्वाचन आयोगमा, धवलशमशेर पनि पुगे

लोकपथ
1.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी आज कार्यालय समय खुलेलगत्तै निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आफूमाथि गरेको कारबाहीको विरोध गर्दै उजुरी दिन गिरी निर्वाचन आयोग पुगेका हुन् ।

राप्रपा अध्यक्ष लिङदेनले गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट शुक्रबार बर्खास्त गरेका थिए । सो निर्णय पार्टीको विधानविपरीत भएको भन्दै गिरीले उजुरी गर्न लागेका हुन् । सुर्खेतका गिरीलाई अध्यक्ष लिङ्देनले २०७८ माघ १६ गते उपाध्यक्ष मनोनीत गरेका थिए ।

निर्वाचन आयोगमा गिरीलाई साथ दिँदै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र कुन्तीकुमारी शाहीलगायत संस्थापन इतर पक्षका नेताहरू उपस्थित भएका छन् ।

गिरीलाई पार्टीको संस्थापनइतर समूह र कर्णाली प्रदेश समितिको साथ छ । राप्रपाको कर्णाली प्रदेश समितिले उनलाई हटाउने निर्णयप्रति असहमति जनाउँदै आजै विज्ञप्तिसमेत जारी गरेको छ ।

महामन्त्री शाहीसहित कर्णालीका १६ जना नेताहरूले उपाध्यक्षबाट पदमुक्त गरिएका गिरीमाथिको कारबाही फिर्ता लिन माग गर्दै अपिल जारी गरेका हुन् । अपिलमा उपाध्यक्ष गिरीलाई पूर्ववत् अवस्थाकै पदमा फर्काउन माग गरिएको छ ।  

‘राप्रपा स्थापनाकालदेखि अनवरत सक्रिय रहनुभएका कर्णाली प्रदेशका जनप्रिय निष्ठावान नेता उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष एवं केन्द्रीय समिति सदस्यबाट पदमुक्त गरेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ शनिबार जारी गरिएको अपिलमा भनिएको छ, ‘उहाँले पार्टीलाई दिनुभएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः सञ्चालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामूहिक वक्तव्यलाई आधार बनाएर बिना कुनै सूचना र स्पष्टीकरण उहाँलाई विधानविपरीत पदमुक्त गरिँदा कर्णाली प्रदेशका हामी तमाम पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चिन्तित भएका छौँ ।’

गिरीमाथिको कारबाहीप्रति उनीहरूले असहमति प्रकट गरेका छन् ।

‘पार्टीको बृहत्तर हित र पार्टी एकतालाई ध्यानमा राखेर उहाँलाई विधानविपरीत गरिएको कारबाही तत्काल फिर्ता गरी पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापना गर्न केन्द्रीय अध्यक्षज्यूसमक्ष अपिल गर्दछौँ,’ अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्ष्य गर्दै उनीहरूले भनेका छन् ।

अध्यक्ष लिङ्देनले भने आफूले मनोनीत गरेकाहरूले गुट बनाउँदै असहयोग गरेकोले पदमुक्त गर्नुपरेको अभिव्यक्ति दिने गरेका छन् । 

यसअघि अध्यक्ष लिङ्देनले असार २५ गते अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलाई हटाएर उक्त ठाउँमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए भने सोही दिन प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेका थिए ।

आफूहरूलाई विधानविपरीत र स्पष्टीकरणको मौकासमेत नदिई अध्यक्ष लिङ्देनले पदमुक्त गरेको भन्दै सुवेदी र लावती पनि निर्वाचन आयोगमा पुगेर उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?