दक्षिण कोरिया । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग तथा सरकारी कामकाजमा अवरोध पुर्याएको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।
उनीमाथि सन् २०२४ डिसेम्बर ३ मा राष्ट्रमा ‘मार्शल ल’ अर्थात् सैनिक शासन घोषणा गरी संसदमा सेना परिचालन गरेर देशलाई राजनीतिक संकटतर्फ धकेलेको आरोप लागेको हो । युनको उक्त कदमले कोरियाली राजनीतिक स्थायित्वमा गम्भीर असर पारेको बताइएको छ ।
जनवरी महिनामा उनलाई पक्राउ गरिएको थियो तर कानुनी प्रक्रियाअनुसार मार्चमा अस्थायी रूपमा रिहा गरिएको थियो । तर, पछिल्लो साता सबुत नष्ट गर्न सक्ने जोखिम देखिएकाले उनलाई पुनः पक्राउ गरिएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार युनले प्रधानमन्त्री र रक्षा मन्त्रीको समर्थन रहेको झूटा दस्तावेज तयार पारेका थिए, जसलाई पछि मेटाउने प्रयास गरिएको थियो । साथै, उनले मार्शल ल लागू गर्नका लागि आवश्यक संवैधानिक प्रक्रिया नपु-याएको दाबी छ ।
अदालतमा भएको पछिल्लो सुनुवाइमा युनले आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेको र शरीरमा अत्यधिक कमजोरी महसुस भइरहेको भन्दै रिहाइको माग गरेका थिए । तर, जुलाई १८ मा अदालतले उनको माग अस्वीकार गरेको छ ।
हाल उनलाई पंखा मात्र रहेको, तर एयर कन्डिसनर नजडिएको कोठामा एक्लै राखिएको छ, जहाँ अत्यधिक गर्मीका कारण अवस्था झनै कष्टकर बनेको बताइएको छ ।
यस मुद्दाले दक्षिण कोरियाली राजनीतिमा ठूलो तरंग ल्याएको छ, र युनमाथि अब कानुनी प्रक्रिया थप चर्किने संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया