काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्री ओलीले आफूविरुद्ध धारणा राख्न खोज्ने जो–कोहीलाई फाइल देखाएर तर्साउने शैली पछ्याउँदै आएको दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओलीको यस्तै प्रवृत्ति लामो समयदेखि चलिरहेको बताएका हुन् ।
पुनले सत्ता साझेदार नेपाली कांग्रेसभित्र पनि नेतृत्व परिवर्तनको चर्चा चल्नासाथ ओलीले त्यसप्रति दबाब सिर्जना गर्न थालेको आरोप लगाए । उनले कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आरजुका आमा–छोरा (जयवीर)को पालो आउँछ भनेर कांग्रेस नेतृत्वलाई तर्साउने प्रयास गरेको दाबी गरे ।
पुनले नेकपा एकता कालखण्डतर्फ संकेत गर्दै माओवादीका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’का छोराको फाइल देखाएर दबाब सिर्जना गरिएको र त्यसकै आधारमा अन्ततः उनलाई एमालेमा भित्र्याइएको आरोप समेत लगाए ।
उनले ओलीको शैली फाइल तयार गरेर दबाब दिने र डर देखाएर सहमति जुटाउने प्रवृत्तिका रूपमा चित्रण गरे ।
भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतको नाम जोड्दै उनले ती घटनाहरू ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब सिर्जना गर्न प्रयोग गरेको आरोप लगाए ।
अन्त्यमा, पुनले प्रधानमन्त्री ओलीलाई ‘चरम दक्षिणपन्थी’ सोच राख्ने नेता भनेर टिप्पणी गरे । उनले माओवादी आन्दोलनको मूल उद्देश्य र विचारधाराबाट ओली निकै पर पुगेको धारणा पनि राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया