काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा अहिलेसम्म ३२ जना नेताहरूले आफ्नो धारणा राखिसकेका छन् । बैठक अहिले पनि पार्टी मुख्यालय च्यासलमा जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठकमा अझै ४० जना नेताहरूले बोल्न बाँकी छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आजै साँझ ५ देखि ६ बजेसम्ममा टुंग्याउन निर्देशन दिएको गौतमले बताए ।
बैठकमा नेताहरूले विधान संशोधनसँगै ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा, पूर्व उपराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता लगायतका विषयमा धारणा राखेका छन् ।
नेताहरूले जिल्ला कमिटीलाई समन्वयात्मक भूमिकामा राख्दै प्रदेश र स्थानीय कमिटीलाई कार्यकारी शक्तिका रूपमा विकसित गर्नुपर्ने सुझावसमेत बैठकमा दिएका छन् ।
पार्टी विधान संशोधन र आन्तरिक संरचना सुदृढीकरणको उद्देश्यले आह्वान गरिएको बैठक शनिबारदेखि च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया