पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा ११ पुल निर्माण सम्पन्न, २ पुल निर्माणाधीन

लोकपथ
210
Shares

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) क्षेत्रमा हालसम्म ११ वटा पुल निर्माण भइसकेका छन् भने दुई पुल निर्माणको क्रममा रहेका छन् ।

तनहुँ जिल्लाका म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला ९१ र २०, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्की जिल्लाको कोत्रेखोलामा पुल निर्माण पूरा भइसकेको छ।

आयोजनाको प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा रहेको छ । विजयपुर खोलामा पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ भने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत छ। विजयपुर पुलको निर्माण अझै पाँचदेखि छ महिनासम्म लाग्ने अनुमान गरिएको छ ।

सेती पुलको निर्माण आगामी भदौमा तीन वर्षे ठेक्का अवधि सकिन लागेको छ । विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माण जिम्मेवारी लिएको भए पनि डिजाइन स्वीकृतिका क्रममा र मापदण्डभित्रका संरचना हटाउने काममा ढिलाइका कारण पुल समयमै बन्न नसकेको प्रमुख कुँवरले बताए । केबल–स्टेड प्रविधिमा निर्माण हुँदै गरेको यस पुलमा सब–स्ट्रक्चरको काम सकिएको छ र हाल सुपर–स्ट्रक्चरको काम भइरहेको छ । आकर्षक डिजाइनमा बन्ने सिग्नेचर पुलको टावर लगायत माथिल्लो संरचनाको काम छिटो अघि बढ्ने निर्माण कम्पनीले जनाएको छ ।

यो छ लेन सडकमा हाल रहेको चाइना पुलको तल र माथि गरी आकर्षक स्वरूपका दुईवटा सिग्नेचर पुल बन्नेछन् । पुल निर्माणमा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ भने कुल ९४ करोड रुपैयाँको ठेक्कामा कङ्क्रिट र फलाम प्रयोग गरी पुल निर्माण भइरहेको छ।

पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा सेती पुल र पूर्वी खण्डतर्फ तनहुँको मादी नदीमा अर्को सिग्नेचर पुल निर्माण कार्य भइरहेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत पर्ने यो सडक पचास वर्षअघि बनेको भए पनि सन् २०७८ वैशाखदेखि सडक स्तरोन्नतिको काम सुरु भएको थियो । आयोजनाले निर्माणमा कुनै अवरोध नआए आगामी हिउँदसम्म सडक स्तरोन्नति सम्पन्न गर्ने योजना बनाएको छ ।

गण्डकी प्रदेशको मुख्य आयामको रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन) मा भौतिक प्रगति ८६ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने) मा ५५.१० प्रतिशत पुगेको छ । पूर्वी खण्डमा कालोपत्रको काम सकिएको छ, तर सडक मार्किङ र सौन्दर्यीकरणका काम बाँकी रहेको छ ।

पूर्वी खण्डको म्याद तेस्रो पटक थपिएपछि हाल पुनः थपको प्रक्रिया अघि बढाइएको छ। पश्चिम खण्डको कुल ३८.८८ किलोमिटरमा ३६.५ किलोमिटर एकतर्फी (दुई लेन) सडकमा पहिलो तहको कालोपत्र भइसकेको छ ।

प्रमुख कुँवरका अनुसार दुईतर्फी (चार लेन) सडकमा २६.३८ किलोमिटर कालोपत्र सकिएको छ । कुल १०५ वटा कल्भर्टमध्ये १०३ वटा निर्माण भइसकेका छन् । पश्चिम खण्डको ठेक्का म्याद आगामी पुस १६ गते सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?