काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रदेशसभा खारेज गर्ने पक्षमा आफूहरू स्पष्ट रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद झाले प्रदेश व्यवस्था भने कायम राख्ने तर त्यसको सभालाई स्थानीय तहकै प्रतिनिधिबाट सञ्चालन गरिने व्यवस्था उपयुक्त हुने बताए ।
उनले भने, ‘हामी प्रदेशलाई राख्न चाहन्छौं तर प्रदेशसभा खारेज गर्न चाहन्छौं । त्यसको सट्टा पालिकाका प्रतिनिधिहरूले प्रदेशको सभा सञ्चालन गर्ने व्यवस्था ल्याउँछौं । यसरी स्थानीय तह र प्रदेशबिच समन्वय अझ प्रभावकारी हुन्छ ।’
सांसद झाका अनुसार रास्वपाले खर्च कटौती र शासन प्रणालीको सक्षमता बढाउने उद्देश्यले विभिन्न संरचनामा पुनरावलोकन गरिरहेको छ । उनले देशमा हाल ११२ वटा आयोग र निकायहरू रहेको भन्दै तीमध्ये अधिकांश निष्क्रिय रहेकाले खारेज गर्ने नीति रहेको स्पष्ट पारे । ‘त्यो ११२ वटा बन्द गरिदिने बित्तिकै हाम्रो वार्षिक दुई–चार अर्ब खर्च जोगिन्छ,‘ उनले भने ।
सांसद झाले संघीय सरकारका २१ मन्त्रालय घटाएर १५ मा सीमित गर्ने योजना पनि अघि सारे । यसका साथै उनले पुराना ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले-लाई आफ्नो योजना, सिद्धान्त र दृष्टिकोण नै नभएको आरोप लगाए । ‘उनीहरू रास्वपाले बोलेको जवाफ दिनमै अल्झिएका छन्, ‘उनले कटाक्ष गरे ।
कार्यक्रममा सांसद झाले सत्तापक्षले संसदमा प्रतिपक्षको आलोचना नगर्ने अवस्था सिर्जना भएको भन्दै अब रास्वपाले संसदको सही अभ्यास सत्तापक्षलाई सिकाउने दाबीसमेत गरे ।
उनको भनाइअनुसार रास्वपाले आगामी दिनमा शासन प्रणालीको पुनर्रचना, प्रशासनिक खर्च कटौती र स्थानीय शासनलाई सशक्त बनाउने नीतिमा प्राथमिकता दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया