काठमाडौं । संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अनुसन्धान प्रक्रिया थप तीव्र बनाउँदै गएको छ ।
शनिबार सिंहदरबारमा बसेको १८औँ बैठकले संविधानविद् डा.काशिराज दाहाललाई विज्ञका रूपमा समितिमा समावेश गर्दै छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले १३ दिनअघिदेखि गठन भएको समितिले आजसम्म १८ औँ बैठक सम्पन्न गरिसकेको जानकारी दिए ।
उनका अनुसार विगतमा कसरी काम भयो, बाँकी कार्ययोजना के हुनेछ र छानबिन प्रक्रिया कसरी अघि बढाइने भन्नेबारेमा बैठकमा गहिरो छलफल भएको छ ।
संविधानविद् दाहाल आजको बैठकदेखि नै समितिमा सहभागी भई काम सुरु गरिसकेको बताइएको छ । साथै, समितिले महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरी एक जना सहन्यायाधिवक्ता र एक जना उपन्यायाधिवक्तालाई बैठकमा निरन्तर सहभागी गराउने निर्णय पनि गरेको छ ।
संयोजक परियारले भने, ‘हामीले अनुसन्धानको काम निरन्तरता दिइरहेका छौँ। धेरै कामहरु सम्पन्न भइसकेका छन् र अहिले सोधपुछ प्रक्रिया पनि चलिरहेको छ ।’ उनका अनुसार समितिलाई प्रतिनिधि सभाबाट २१ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया