झापा । झापा जिल्लामा आर्थिक वर्ष २०८१/८२ को अवधिमा एक हजार २९६ वटा सवारी दुर्घटना भएका छन् ।
ती दुर्घटनामा ९५ जनाको ज्यान गएको छ भने १३९ जना गम्भीर घाइते र एक हजार ९३४ जना सामान्य घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार सवारी नियम उल्लंघन गर्ने ५२ हजार ८७५ चालकलाई कारबाही गरिएको छ । सो कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व संकलन भएको छ ।
मादक पदार्थ सेवन (मापसे) सम्बन्धी कारबाहीमा मात्र तीन हजार १७४ चालक समेटिएका छन् । तीमध्येबाट मात्रै १८ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको पौडेलले जानकारी दिए ।
ट्राफिक सचेतनामूलक कार्यक्रमअन्तर्गत जिल्लाका विद्यालय तहका आठ हजार ४६१ विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ । त्यस्तै, मापसे सचेतना प्रशिक्षण एक हजार २५० जनालाई प्रदान गरिएको छ ।
प्रविधि उपयोगतर्फ ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै ट्राफिक भायोलेसन रेकर्ड प्रणाली तथा अनलाइन जरिवाना तिर्ने प्रणाली लागू गरिएको छ ।
सवारी नियमन तथा ट्राफिक सुधारका लागि कार्यालयले ७० थान रिफ्लेक्टर बेल्ट, ३० ट्राफिक साइन बोर्ड, ४ म्याजिक लाइट, ३ ब्रीथालाइजर, ७ कम्प्युटर, १ गोप्रो क्यामेरा र १ ल्यापटप प्रयोगमा ल्याएको छ ।
सडक सुरक्षामा सुधार ल्याउने उद्देश्यले विभिन्न स्थानीय तह, विद्यालय, अस्पताल, सञ्चार संस्था र सामुदायिक केन्द्रसँगको सहकार्यमा कक्षा ६ देखि १० सम्मका विद्यार्थी, अटोरसिटी चालक तथा समाजका अन्य पक्ष लक्षित गरी कार्यक्रमहरू सञ्चालन गरिएको पौडेलले जानकारी दिए । उनका अनुसार साझा प्रयासबाट मात्रै सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सुनिश्चित गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया