काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आफूले नेतृत्व गरेको कुनै पनि आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बिचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
गौतमले आफूले अघि सारेका आन्दोलनहरू सफल भएको इतिहास सुनाउँदै अबको अभियान नेपालका सम्पूर्ण कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने रहेको बताए ।
उनले भने, ‘आज म एक्लै आएको होइन, चार वर्ष एक्लै लागेँ, सफल हुन सकिनँ । अब एकता गरेर आएको हुँ । अबको यात्रामा नेकपा एकता राष्ट्रिय अभियान बोकेर आएको छु । धेरै कमरेडहरूलाई सँगै ल्याएको छु ।’
गौतमले नेपालमा एक मात्र शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउँदै छरिएर रहेका कम्युनिष्ट धाराहरूलाई एक सूत्रमा गाँस्ने प्रण गरेका छन् ।
उनले चेतावनी दिँदै भने, ‘आवश्यक परे यी हातहरू हतियारको रूपमा प्रयोग हुनेछन् । म आन्दोलनको नेता हुँ । मैले जिम्मा लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन । सफल मात्रै भएको छ ।’
नेता गौतमले अबको अभियान नेपाली जनतालाई मालिक बनाउने भएको बताए । उनले जनताको सर्वोच्चतामा आधारित राजनीतिक संरचना निर्माणमा आफू पूर्णरूपमा प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा अन्य नेताहरूले पनि एकता, सिद्धान्त र दिशानिर्देशनको स्पष्टताको आवश्यकता औँल्याउँदै संयुक्त आन्दोलनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया