काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल राष्ट्रिय एकता अभियानसँगको एकतालाई मुलुकको कम्युनिष्ट आन्दोलनको एकताका रूपमा अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।
शुक्रबार नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बिचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले साझा नीति, सिद्धान्त र कार्यदिशा विना एकता दीगो नहुने बताए ।
उनले भने, ‘एकताको निम्ति सही नीति, सही सिद्धान्त, सही कार्यदिशा आवश्यक पर्दछ । नीति बिनाको एकता सम्भव हुँदैन । के नीतिमा हामी एकताबद्ध हुन्छौँ, कस्तो कार्यदिशा र सिद्धान्तको आधारमा एकताबद्ध हुन्छौँ भन्ने कुरामा चिन्तन-मनन गरेर साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध गर्नु आजको आवश्यकता हो ।’
नेता खनालले आजको युगलाई समाजवादी क्रान्तिको रूपान्तरणको युगको रूपमा व्याख्या गर्दै यो परिस्थितिमा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिए । यो एकता प्रक्रिया पार्टीलाई अझ बलियो बनाउनका लागि हो । यो एकतालाई हामीले कम्युनिष्ट आन्दोलनको एकताको रूपमा, देशव्यापी एकताको रूपमा, नीतिगत सिद्धान्त र लक्ष्यको एकताका रूपमा बदल्ने संकल्प गरौँ, ‘उनले भने ।
उनले कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रूपमा पुनः संरचना र रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया