सरकारवादी मुद्दाहरुमा सरकारलाई ६८ प्रतिशत सफलता

लोकपथ
826
Shares

काठमाडौं । सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता हासिल भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका क्रममा महान्यायाधिवक्ता रमेश बडालले चालु आर्थिक वर्ष २०८१ मा दर्ता भएका मुद्दामध्ये ६८ प्रतिशतमा सफलता प्राप्त भएको जानकारी दिए ।

उनका अनुसार हालसम्म कार्यालयमा फाइल भएका ३ हजार ३ सय ७० वटा मुद्दामध्ये २ हजार ७ सय ९० वटामा पुनरावेदन नगर्ने निर्णय गरिएको छ । बाँकी ४८६ मुद्दा सर्वोच्च अदालतमा र ९५ मुद्दा उच्च अदालतमा पुनरावेदन गर्न फर्काइएको छ ।

महान्यायाधिवक्ता बडालले प्रारम्भिक छानबिनका क्रममा ३६८ मुद्दामध्ये ३४० वटा मुद्दा नचलाउने निर्णय भएको बताए । ‘किनभने मुद्दा चल्ने हो भने त तलबाटै प्रक्रिया अगाडि बढिसकेको हुन्छ,‘उनले भने, ‘त्यसकारण १० वटा मात्र मुद्दा चलाउने निर्णय गरेका हौँ भने बाँकी थप अनुसन्धान र आवश्यकताअनुसार सम्बन्धित निकायमा फर्काएका छौं ।’

उनले अघिल्लो कार्यकालको तुलनामा पुनरावेदनसम्बन्धी फाइल संख्या घटेको बताए । त्यसको प्रमुख कारणका रूपमा उनले नायब र सह–न्यायाधिवक्तालाई निर्णयको अधिकार प्रत्यायोजन गरिएको उल्लेख गरे ।

‘फाइल संख्या गत वर्षको तुलनामा घट्नु स्वाभाविक हो । गत वर्षको तुलनामा कम फाइलमा पुनरावेदनको निर्णय गर्नुपरेको छ,‘बडालले भने । उनले सवारी ज्यानसम्बन्धी मुद्दामा कुनै पनि प्रकारको सजाय भएमा त्यसलाई सफलता मानिएको समेत बताए।

महान्यायाधिवक्ताले फौजदारी न्याय प्रणालीमा सुधारका लागि आफू प्रतिवद्ध रहेको स्पष्ट गरे । कार्यक्रमकै अवसरमा अनिवार्य अवकाशमा जान लागेका नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेको विदाई पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?