काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा यातायात सुरक्षालाई प्रभावकारी बनाउन सबै प्रकारका यातायात साधनको नियमन एउटै निकायबाट गर्नुपर्ने धारणा राखेकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो धरणा राखेकी हुन् ।
उनले पछिल्लो समय यातायातको दायरा धेरै ठूलो भइसकेको उल्लेख गर्दै सबै प्रकारका यातायात सेवालाई एउटै मन्त्रालयअन्तर्गत राख्नुपर्ने बताइन् ।
सांसद गौतमले नागरिक उड्डयन प्राधिकरण छुट्टै सेवा प्रदायक र नियामकको भूमिकामा जाने प्रस्तावबारे प्रश्न उठाउँदै नियमन पक्ष कमजोर नहोस् भन्नेमा सचेत रहन आग्रह गरिन् ।
उनले भनिन्, ‘यातायात सुरक्षालाई एकदमै नजिकबाट हेर्नुपर्ने आवश्यकता रहेको छ । सबै प्रकारका यातायातका सबै साधनहरूलाई एकै ठाउँमा राखेर नियमन गर्ने तरिकाले एउटा मिनिस्ट्रीबाट हेर्ने व्यवस्था गर्दाखेरी उपयुक्त हुन्छ । यातायातको साधनहरूमध्ये हवाई यातायात अलिकति सेफ हुन्छ भनेर मान्छे चढ्ने हो । अहिले पनि हवाई भन्दा सडक दुर्घटना धेरै भइरहेको छ । यसलाई पनि मध्यनजर गर्नुपर्छ । यो विधेयकमा सेवा दिने संस्थाले राम्रो सेवा दिनुपर्यो । सेवा प्रदायक संस्था हुने भएको यस प्राधिकरणले आम्दानी राम्रै गर्ला । तर नियमनकारी निकायले कसरी जोहो गर्छ त ? यो प्रश्न सैद्धान्तिक रूपमा उठेको कारणले यसरी हेर्नुपर्छ ।’
बैठकमा बोल्ने अधिकांश सांसदहरूले हवाई यातायातलाई थप प्रभावकारी भूमिका खेल्न विधेयक महत्त्वपूर्ण रहेको उल्लेख गर्दै गम्भीरताका साथ अघि बढ्न जरुरी रहेको धारणा राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया