काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा देशभर सवारी दुर्घटनाको स्थिति झनै भयावह बनेको छ ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाका अनुसार एक वर्षको अवधिमा देशभर २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २ हजार ५ सय ४९ जनाले ज्यान गुमाएका छन् ।
शुक्रबार बसेको संघीयता सलबिकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै थापाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा यो वर्ष सवारी दुर्घटनाका घटनामा २५.१५ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।
उनका अनुसार अहिलेको दरअनुसार झन्डै एक दिनमा सातदेखि १० जनासम्मको सवारी दुर्घटनामा मृत्यु भइरहेको छ, जसमा सबैभन्दा बढी मधेस प्रदेश प्रभावित रहेको छ।
महानिरीक्षक थापाले अपराधका घटनाहरू पनि अघिल्लो वर्षभन्दा केही बढेको बताए । आर्थिक वर्ष २०८०/८१ मा देशभर ५८ हजार ४७० मुद्दा दर्ता भएकोमा २०८१/८२ मा ५९ हजार २०४ मुद्दा दर्ता भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १.२४ प्रतिशतले बढी हो ।
दर्ता भएका कुल मुद्दामध्ये काठमाडौं उपत्यकामा मात्र १६ हजार १७२ वटा मुद्दा दर्ता भएका छन् । त्यसपछि मधेस प्रदेश र कोशी प्रदेशमा बढी मुद्दा देखिएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम छन् ।
आईजीपी थापाका अनुसार अहिले नेपाल प्रहरीले एक दिनमा औसत २ सय २६ वटा सवारी गस्ती, ६ सय ९ वटा चेकिङ, १ हजार ११० वटा पैदल गस्ती र ७ सय १२ वटा ग्रामीण गस्ती सञ्चालन गरिरहेको छ ।
उनकाअनुसार देशभर सुरक्षा कायम गर्न दैनिक ३० हजार ३ सय ७४ जनशक्ति खटिन्छन् भने प्रहरी संगठनले २४ घण्टामा झन्डै ७ हजार २ सय ५५ वटा सूचना प्राप्त गर्ने गर्दछ ।
थापाले शान्ति सुरक्षाको समग्र अवस्था सन्तोषजनक रहेको दाबी गर्दै प्रहरी संगठनले नागरिकको जिउधनको सुरक्षामा कुनै सम्झौता नगरेको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया