एकाएक किन बढ्यो शेखरको दौडधुप ? कतै नयाँ समीकरण त होइन !

लोकपथ
3k
Shares

काठमाडौं । वर्तमान सरकारमा सामेल मन्त्रीहरूको एकपछि अर्को काण्ड आइरहँदा सरकारमाथि विश्वासको ग्राफ निरन्तर घटिरहेको छ ।

‘म भ्रष्टाचार पनि गर्दिन र गर्न पनि दिन्न’ भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीकै क्याबिनेटका मन्त्रीहरू घुस डिलमा मुछिएको कुरा बाहिरिइरहेका छन् । जसले सुशासनका पक्षमा काम गर्ने आश्वासन दिने गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीको ओज नै घटिरहेको देखिन्छ ।

कांग्रेससँगको सहकार्यमा रहेका प्रधानमन्त्री ओली ७ बुँदे सहमतिअनुसार केही उलटफेर नआए अझै एक वर्ष सत्ताको नेतृत्वमा रहन्छन् । तर सत्तापक्षबाटै निरन्तर आलोचना हुन थालेपछि भने एक वर्षको अवधिमा सरकार टिकाउनै मुस्किल पर्ने, उस्तै परे राजनीतिमा नयाँ समीकरण बन्नसक्ने सम्भावनाहश्र देखिन थालेका छन् ।

त्यसमा सत्तारुढ दल नेपाली कांग्रेसका संस्थापनइतरका प्रमुख नेता डा. शेखर कोइरालाको दौडधुपले पनि शंका गर्नेहरूका लागि केही मसला मिलेको देखिन्छ ।

पछिल्लो दिनहरूमा शेखरले राजनीतिक सक्रियता बढाएका छन् । उनले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारमा पुगेर भेटे । समसामयिक विषयमा कुराकानी भएको भनिएको भेटघाटमा पछिल्ला राजनीतिक घटनाक्रम र सरकारले काम गर्न नसकेका र विकल्पका विषयहरूमा समेत छलफल भयो ।

नेताद्वयबिच खुमलटारमा विभिन्न विषयमा २ घण्टा वार्ता नै चल्यो । सत्तापक्षकै भए पनि शेखर र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष रहेका प्रचण्ड सरकारमाथि उस्तै विषयमा कटाक्ष गरिरहेका सुनिन्छन् । हिजोको भेटघाटको अन्य तथ्यहरू भने बाहिर आएका छैनन् ।

प्रचण्डले बिहीबार नै एक सार्वजनिक कार्यक्रममा बोल्दै सरकारले जहाँ टेक्यो त्यही भ्रष्टाचार हुने भन्दै आफूहरू प्रतिवाद गर्न सडकमै आउन समेत पछि नपर्ने चेतावनी दिएका थिए ।

‘देश अहिले संविधानको दृष्टिकोणले, गणतन्त्रको दृष्टिकोणले, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ । अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन । सुशासनका विरुद्ध खडा भएको भनिएको यो सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ,’ प्रचण्डले भनेका थिए ।

यता सरकारको कामकारबाहीमाथि निरन्तर आलोचना गरिरहेका शेखरले शुक्रबार बिहानै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगभेटघाट गरे । भण्डारी जो अहिले नेकपा एमालेको राजनीतिमा सक्रिय भइरहेकी छन् ।
एमालेभित्र नयाँ धार जन्माउने तयारीमा रहेकी भण्डारीले शेखरलाई बुढानीलकण्ठ भंगालस्थित आफ्नै निवासमा बोलाएर भेटघाट गरिन् ।

उनले आफू सक्रिय राजनीतिमा फर्किएको र आफूलाई नैतिक समर्थन चाहिएको बताइन् । भण्डारीले उनीसँग आफूहरू फरक–फरक पार्टीमा भए पनि सहयोग गर्न आग्रह गरेको शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले लोकपथलाई जानकारी दिए ।

‘उहाँले म सक्रिय राजनीतिमा फर्किएँ, मलाई नैतिक समर्थन चाहियो । हामी फरक पार्टीमा भए पनि मिलेर अघि बढ्नुपर्छ,’ भण्डारीको भनाइलाई उद्धृत गर्दै थपलियाले भने ।

त्यसो त शखरले आफूले सकारात्मक कुराहरूमा सहयोग गर्ने बचन दिए ।

यता शेखर भने जनतामा निराशा छाइरहेको र आफूले पहिल्यैदेखि सरकारलाई खबरदारी गरिरहेको बताएका थिए । साथै आफूले जनताको निराशा चिर्न सरकारलाई सही ट्र्याकमा ल्याउन दबाब बढाएको उनले बताएक थिए भण्डारीले पनि आफ्नो तर्फबाट सरकारलाई दबाब बढाउन आग्रह गरे ।

‘जनतामा निराशा छ । त्यो निराशा चिर्नु आजको मुख्य चुनौती बन्यो । सरकारले जनतामाथिको निराशा चिर्ने भन्दा पनि आफ्नो रोटी सेकाउने काम मात्रै गरिरहेको छ,’ शेखरको भनाइलाई उद्धृत गर्दै थपलियाले भने, ‘यसमा मैले पहिल्यैदेखि सरकारलाई दबाब दिँदै आइरहेको छु, तपाईँले पनि अब यसमा खुलेर बोल्नुपर्‍यो ।’

भण्डारी र शेखर कोइरालाबीच करिब १ घण्टा छलफल चलेको थियो । उक्त छलफलका लागि शेखरसहित केही अन्य स्वतन्त्र सांसदहरूको समेत सहभागिता रहेको बताइन्छ ।

सरकारमाथि चौतर्फी आलोचना भइरहेका बेला कतै शेखरको दौडधुपले कतै समीकरण त बन्न लागेको होइन ? भन्ने लोकपथको प्रश्नमा थपलियाले भने, ‘बजारमा धेरै हल्लाहरू छन्, ती सबै हल्लाको पछि लागेर हुँदैन । राजनीतिमा सबै काम आवश्यकताको आधारमा हुन्छ । मुख्य जनताको आवश्यकता के हो भन्नेलाई प्राथमिकता दिएर हेर्नुपर्छ ।’

त्यसो त एमालेकै कतिपय पदाधिकारीहरू प्रचण्ड वर्तमान सरकार गिराउने खेलमा लागिरहेको आरोप लगाउँदै आएका छन् ।

सरकारमाथि चौतर्फी आलोचना भइरहेका बेला एमालेभित्रको शक्ति सन्तुलनको मुख्य पात्र मानिएकी भण्डारी र सत्तापक्षमै भएर पनि सरकारको आलोचना गरिरहेका डा. कोइरालाबिचको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?