काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले सुनकोशी–मरिन डाइभर्सन आयोजनाबारे स्थलगत अध्ययन तथा अनुगमन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिका सभापति दीपकबहादुर सिंहका अनुसार उपसमितिको संयोजक सांसद प्रकाश ज्वालालाई बनाइएको छ भने अन्य सदस्यहरूमा सीता गुरुङ, ठाकुर गैरे, माधव सापकोटा, बिना लामा, निशा डाँगी र सुशीला श्रेष्ठ रहेका छन् ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा आयोजनाको कार्यप्रगति सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गरिएको थियो । सांसदहरूका अनुसार राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको यस आयोजना तय समयसीमामा सम्पन्न हुने अवस्था देखिँदैन ।
उपसमितिले आयोजनास्थलमा स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन गरी निर्माण व्यवसायी, इन्जिनियर, कन्सल्ट्यान्ट, स्थानीयवासी र सरोकारवाला निकायसँग परामर्श गरेर दुई महिनाभित्र पूर्ण प्रतिवेदन पेस गर्नेछ ।
करिब ७६ क्युसेक पानी सुरुङमार्फत सुनकोशी नदीबाट सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित कुसुमटारमा पर्ने मरिन खोलामा ल्याएर झार्ने र त्यसबाट १ लाख २२ हजार हेक्टर तराई–मधेसको जमिनमा सिंचाई सुविधा पुर्याउने योजना रहेको छ । आयोजनाले ३१ मेगावाट विद्युत उत्पादन पनि गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको कार्य सम्पन्न गर्ने लक्ष्य २०८४ सालको असोजसम्म तय गरिएको भए पनि हालसम्मको कामको गति सुस्त रहेको भन्दै सांसदहरूले गम्भीर ध्यानाकर्षण गराएका छन् ।
पूर्वाधार विकास समितिको उपसमितिबाट पेस हुने प्रतिवेदनले आयोजनाको भविष्यबारे स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया