नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस् : ठाकुर गैरे

लोकपथ
560
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले कलंकी–महाराजगञ्ज–चक्रपथ सडक स्तरोन्नतिको कार्य गुणस्तरीय, समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद गैरेले विगतमा नारायणगढ–बुटवल सडकखण्डमा देखिएको ढिलाइ, अव्यवस्था र जनस्तरको सास्तीलाई उदाहरण दिँदै चक्रपथ स्तरोन्नतिमा त्यस्तो प्रवृत्ति दोहोरिन नदिन सचेत रहन आग्रह गरे ।

‘वर्षौँपछि चक्रपथ स्तरोन्नति हुने प्रक्रियामा आएको छ, यो स्वागतयोग्य कुरा हो, ‘गैरेले भने, ‘तर हामीले नारायणगढ–बुटवल सडकको कार्यान्वयनमा देखिएको कमजोरीबाट पाठ सिक्नुपर्छ ।’

उनले वसुन्धरा क्षेत्रको करिब ३०० मिटर सडक प्रोजेक्टमा नपरेको समस्या पनि उठाउँदै, त्यसलाई चीन सरकारको सहयोगमा समेट्न सकिने सम्भावना भएको जनाए । यदी चीनको सहयोगमा सम्भव नभए, नेपाल सरकारले आफ्नै स्रोतबाट त्यो काम सम्पन्न गर्नुपर्ने उनले सुझाव दिए ।

गैरेले कलंकीदेखि महाराजगञ्जसम्मको सडक खण्डलाई अत्याधुनिक, स्तरीय र सन्तुलित रूपमा निर्माण गर्न जोड दिँदै भने, ‘एउटा खण्डमा स्तरीय सडक, अर्कोमा घण्टौँ ट्राफिक जाम र असुविधा – यस्तो विरोधाभासको अन्त्य गर्न जरुरी छ ।’

उनले सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सम्बन्धित निकायलाई धन्यवाद दिँदै, शुरु देखिनै अन्त्यसम्म यो प्रोजेक्ट उच्च गुणस्तरमा, तोकिएको समयभित्रै सम्पन्न गरी उदाहरणीय बनाउन आग्रह गरे ।

‘काम समयमै सम्पन्न होस्, जनतामा राम्रो सन्देश जाओस्, ‘सांसद गैरेको स्पष्ट भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?