सांसद भण्डारी भन्छन्– ‘विकासका काममा कुनै पनि अवरोध हुनु हुँदैन’

लोकपथ
91
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले विकासका काममा कुनै पनि अवरोध हुनु नहुने स्पष्ट पारेका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसदअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मुलुकको समग्र विकासमा अवरोध सिर्जना गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

सांसद भण्डारीले विकासका नाममा हुने अनावश्यक विरोधले देश सधैँ जस्तो तिनै समस्यामा अल्झिरहने अवस्था आउने भन्दै मौजुदा कानुनका कारण जनताले निरन्तर दुःख भोग्नुपरेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘विकास कुनै पनि नाममा अवरोध हुनु हुँदैन । यसरी मुलुक सधैँ चल्छ त ? मौजुदा कानुनको कारणले सधैँ जनताले दुःख पाइरहनुपर्ने ? अब त यस्तो अवस्था अन्त्य गर्नुपर्छ ।’

भण्डारीले नियतवश काम नगर्ने ठेकेदारलाई कानुनी प्रावधान अनुसार तत्कालै कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै स्थानीय स्तरमा विकासमा अवरोध गर्ने कार्यकर्तालाई पनि नछोड्ने कानुनी प्रबन्ध गर्नुपर्ने धारणा राखे ।

‘कुनै कानुनी अल्झनको आधारमा विकासमा अवरोध हुनुहुन्न । नियतवश काम नगर्ने ठेकेदारलाई कानुनी प्रावधान देखाएर अन द स्पोट कानुनको दायरामा ल्याउने काम चाहियो, ‘उनले भने, ‘स्थानीय रूपमा हुने अवरोध निषेध हुने अवस्था निर्माण गरौँ ।’

भण्डारीले कानुनी व्यवस्थाबाटै मुलुक सञ्चालन हुनुपर्नेमा जोड दिँदै विकास निर्माणका कार्यमा हुने अवरोध हटाउन सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने माग गरे ।

उनको भनाइ अनुसार, कानुनी संरचना स्पष्ट नभएसम्म विकासका नाममा हुने विवाद, ढिलाइ र अवरोध हटाउन सकिँदैन । अतः विकास प्रक्रियालाई सहज र प्रभावकारी बनाउन कानुनी स्पष्टता र कार्यान्वयन अनिवार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?