काठमाडौं । संघीय संसद् अन्तर्गत आज विभिन्न पाँच संसदीय समितिका महत्वपूर्ण बैठकहरू बस्दै छन् । बैठकहरूमा हवाई सेवा सुधारदेखि शान्ति सुरक्षा, पूर्वाधार विकास, सामाजिक समावेशिता र विधायनसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको ४८औँ बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल गरिने कार्यक्रम रहेको छ।
त्यसअघि बिहान ८ बजेबाट सुरु भएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा घले समुदायलाई छुट्टै जातिका रूपमा सूचीकृत गर्नुपर्ने विषयमा प्राप्त निवेदनमाथि छलफल भइरहेको छ।
पूर्वाधार विकास समितिको बैठक बिहान ८:३० बजेबाट सुरु हुनेछ । सो बैठकमा काठमाडौं चक्रपथको कलङ्की–महाराजगन्ज खण्ड को डिटेल्ड प्रोजेक्ट रिपोर्ट (DPR) सम्बन्धमा समिक्षा तथा छलफल गरिनेछ।
मध्यान्ह १२:१५ बजे राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ, जहाँ जलस्रोत विधेयक, २०८१ बारे विज्ञहरूसँग विस्तृत छलफल गरिने कार्यसूची रहेको छ।
यसैबीच, बिहान ११:३० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ। बैठकमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सुरक्षाकर्मीको मनोबल वृद्धि सम्बन्धी पछिल्ला प्रयासहरूबारे छलफल गरिनेछ।
संसदीय समितिहरूको आजको बैठकहरूमा विभिन्न क्षेत्रका नीति तथा विधेयकमाथि गहन बहस र सरोकारवालासँग अन्तरक्रिया हुने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया