रुपन्देही–३ उपनिर्वाचन :  रास्वपाबाट उम्मेदवार बन्न यस्ता मापदण्ड

लोकपथ
3.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘पहिलो हुने निर्वाचित हुने प्रणाली’ अन्तर्गत उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ ।

पार्टीले उम्मेदवार छनोटका लागि नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता तथा प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई मुख्य आधार बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री विपिन आचार्यले आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ उपनिर्वाचनका लागि यही कार्यविधिअनुसार उम्मेदवार चयन गरिने जानकारी दिए ।

‘रुपन्देहीलाई प्रस्थानबिन्दु मानेर उम्मेदवार छनोट विधि पारित गरिएको हो,‘उनले भने, ‘पार्टी गतिविधिमा सक्रिय, पदाधिकारीदेखि सदस्यहरूले रुचाएको, क्षमतावान र देश तथा जनताका लागि योगदान दिन सक्षम उम्मेदवार छनोट गर्ने लक्ष्य राखिएको छ।’

पार्टीका प्रवक्ता मनिष झाले उम्मेदवारको स्वीकार्यता, व्यक्तित्व र क्षमतालाई निर्णय प्रक्रियामा प्राथमिकता दिइने बताए ।

उनका अनुसार कार्यविधिमा उम्मेदवार छनोटका लागि लिडरसिप एकेडेमीमा २५ प्रतिशत, राजनीतिक निकटतामा २० प्रतिशत, समावेशितामा ५ प्रतिशत र प्रारम्भिक निर्वाचनको नतिजामा ५० प्रतिशत अंकभार निर्धारण गरिएको छ ।

रास्वपाले पार्टी स्थापना देखिनै आन्तरिक प्रारम्भिक निर्वाचन प्रक्रियाबाट उम्मेदवार छनोट गर्दै आएको बताउँदै आएको छ । प्रवक्ता झाका अनुसार सोही अभ्यासलाई परिस्कृत गर्दै नयाँ कार्यविधि तयार गरिएको हो ।

पार्टीले एक साताभित्र उम्मेदवार छनोटको तालिका सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?