विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह

लोकपथ
56
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत् आयोजना निर्माणमा आवश्यक उपकरण फिर्ता लैजानुपर्ने झन्झटले ऊर्जा क्षेत्रलाई असर पुर्‍याइरहेको गुनासो गरेका छन् ।

बिहीबार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष डाँगीले स्वदेशी लगानीमै ठूला जलविद्युत् आयोजना निर्माण भइरहेका बेला प्रविधि र उपकरण विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए । आयोजनाको निर्माण सकिएपछि ती उपकरणहरू फिर्ता लैजानुपर्ने अवस्थाले थप अप्ठ्यारो सिर्जना भइरहेको उनले स्पष्ट पारे ।

‘अहिले स्वदेशी लगानीमै विद्युत्का ठूला आयोजनाहरू निर्माण कार्य सुरु गरेका छौँ,’ उनले भने, ‘यसका लागि विदेशबाट इक्युपमेन्ट ल्याएर नेपालमा काम गर्नुपर्ने हुन्छ । तर आयोजना सम्पन्न भएपछि ती उपकरणहरू फिर्ता लैजानुपर्ने प्रक्रियाले ऊर्जा क्षेत्रले समस्या भोगिरहेको छ ।’

उपाध्यक्ष डाँगीले यस्तो समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग आग्रह गर्दै विद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रविधि तथा उपकरणको सहजता सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।

उनले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य अनुसार निजी क्षेत्र पूर्ण रूपमा उत्साहित रहेको उल्लेख गर्दै यस्तो वातावरणलाई अझ सहज बनाउन आवश्यक नीति तथा सहयोग सरकारबाट अपेक्षित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?