काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिनावारीका बेला छाउगोठमा बस्न बाध्य पारिने परिपाटीको अन्त्यका लागि कडा कदम चालिने बताएका छन् ।
बिहीबार सिंहदरबारमा अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरूसँगको भेटमा मन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी सम्पूर्ण स्थानीय तहलाई यो सम्बन्धमा परिपत्र गर्ने तयारी भइरहेको बताए ।
‘महिनावारीलाई लिएर समाजमा गहिरो अन्धविश्वास कायम छ, ‘मन्त्री लेखकले भने, ‘यसको निर्मूलनका लागि अन्तर पार्टी महिला सञ्जालको सुझाव र सहकार्य आवश्यक छ।’
महिलामाथि हुने हिंसा, यौनजन्य अपराध र विभेदप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले अपराधीलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको पनि स्पष्ट पारे ।
भेटका क्रममा अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष ममता गिरीको नेतृत्वमा गएको टोलीले देशभर महिला तथा बालबालिकामाथि भइरहेका विभेद र हिंसात्मक घटनाहरूमा गम्भीर ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि गृहमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएको थियो ।
मन्त्री लेखकले महिलाको सम्मान, सुरक्षासँग जोडिएको सवालमा सरकार कुनै पनि हालतमा कमजोर नहुने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया