काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले हिजो बुधबार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिसका लागि सूचना प्रकाशन गरेसँगै आकांक्षीहरुको दौडधुप सुरु भएको छ ।
बढुवा समितिको सचिवालयले यसअघि सम्भाव्य उम्मेदवारलाई बढुवा प्रयोजनार्थ कागजात बुझाउन ३ देखि ७ दिनको समय दिने गरेकोमा यो पटक १५ दिनको समय दिएको छ । सशस्त्र प्रहरीमा अहिले अधिकृत तहको विभिन्न तालिम सञ्चालन भइरहेकाले तालिममा सहभागी हुनेहरूले समेत आवेदन दिन सक्नेगरी १५ दिनको समय दिइएको हो । यसका लागि तालिमको अवधिसमेत घटाइएको छ ।
स्रोतका अनुसार, एसएसपी बढुवाका लागि मापदण्ड बनाउन गृह मन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयबीच छलफल भइरहेको छ । खासगरी वरीयतामा माथि, स्टाफ कलेज उत्तीर्ण तथा उत्कृष्ट र नतिजामूलक कार्य गरेका अधिकृतहरुलाई बढुवामा पहिलो प्राथमिकता दिने विषयमा गृह मन्त्रालय र सशस्त्र मुख्यालयबीच आन्तरिक समझदारी भइसकेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार, वरीयतालाई मात्रै पहिलो आधारका रूपमा नलिने विषयमा गृहमन्त्री रमेश लेखक र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच ‘सहमति’ जुटिसकेको छ । आफूलाई भेट्न आउने विभिन्न तहका अधिकृतहरुलाई पनि आईजीपी अर्यालले ‘सिनियारिटी’ लाई मात्रै नहेर्ने सन्देश दिइसकेका छन् । उनले स्टाफ कलेज गरेका र कार्यसम्पादन मूल्यांकनलाई विशेष प्राथमिकता दिने सन्देश पनि सुनाइसकेका छन् । यति मात्र नभई स्टाफ कलेज गरेकाको हकमा बढुवाका लागि प्रतिशत नै तोक्ने संकेत पनि उनले गरेका छन् ।
स्रोतका अनुसार, सशस्त्रमा हाल एसएसपीको पाँच वटा संख्या खाली छ । एसएसपी मनिष थापा डीआईजी बढुवामा सिफारिस भइसकेकाले अर्को एउटा संख्या पनि रिक्त हुँदा ६ पुग्छ । यसका लागि ४१ जना दाबेदार छन् । उनीहरू सबै सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । सिसं २ बेसिकका दुई जना डीआईजी र दुई दर्जन बढी एसएसपी भइसकेका छन् ।
अहिले वरीयताको पहिलो नम्बरमा ध्रुवबहादुर कार्की छन् । स्टाफ कलेजसमेत उत्तीर्ण र कार्यसम्पादनमा अब्बल मानिएका कार्कीलाई पछिल्लो पटक १२ जना बढुवा गर्दा छुटाइएकोमा त्यसबेला नै सशस्त्र प्रहरी नेतृत्वको चर्को आलोचना भएको थियो ।
कार्कीपछिको वरीयतामा उनीसँगै एसपीमा बढुवा भएका जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोककुमार बम र वीरेन्द्रबहादुर ऐर छन् । उनीहरू सबै जना २०७५ साल चैत १२ मा एसपीमा बढुवा भएका थिए । यो मितिमा बढुवा भएका ऐरले भने स्टाफ कलेज गरेका छैनन् ।
सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकको दोस्रो लटको एसपी बढुवा भने २०७७ साल जेठ ५ गते भएको थियो । दोस्रो लटमा समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधीर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाशकुमार सुवेदी, दीपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, महेश केसी, सञ्जय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर राउत, सुभाष भण्डारी, राजेन्द्र थापा र द्रोणकुमार विष्ट बढुवा भएका थिए ।
दोस्रो लटमा बढुवा भएका विजयकुमार केसी, प्रकाशकुमार सुवेदी, सुरेन्द्र बुढाथोकी, अर्जुन खत्री, जनकराज बस्नेत, सुभाष भण्डारी र द्रोणकुमार विष्टले स्टाफ कलेज गरेका छैनन् ।
सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकको तेस्रो लटको बढुवा २०७७ माघ ११ गते भएको थियो । त्यतिबेला चित्रांगत दाहाल, गगन श्रेष्ठ, विक्रम होमागाईं, राजकुमार लामिछाने, प्रदीपसिंह कार्की, अरविन्द श्रेष्ठ, शशि पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेशकुमार थापा, तीर्थबहादुर थापा, सूर्यप्रसाद आचार्य, रूपकुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र विनोद केसी एसपीमा बढुवा भएका थिए । यो लटमा बढुवा भएकामध्ये प्रदीपसिंह कार्की, अरविन्द श्रेष्ठ, हर्कराज पन्त, रमेशकुमार थापा, तीर्थबहादुर थापा, सूर्यप्रसाद आचार्य, प्रदीप खड्का र विनोद केसीले स्टाफ कलेज गरेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया