काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक एक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ निवासी ३० वर्षीय दिनेश पासवान रहेका छन् ।
घटनामा परि २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
आज बिहान पौने ७ बजे, रौतहटबाट लालबन्दीस्थित न्युँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा ट्रकको भाग ११ हजार भोल्टको विद्युतीय तारमा छोइएपछि करेन्ट प्रवाह भएको थियो । करेन्टले तीनै जना घाइते भएका थिए ।
तत्कालै घाइतेहरूलाई इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले उद्धार गरी नमुना अस्पताल हरिवनमा पुर्याएको थियो । उपचारको क्रममा सहचालक दिनेश पासवानको मृत्यु भएको हो ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया