एक वर्षमा पाँच सय ३४ फरार प्रतिवादी पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र एक जना यौनिक अल्पसङ्ख्यक रहेका छन् ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले फरार प्रतिवादीहरूलाई जिल्ला अदालत झापामा उपस्थित गराई, अदालतको आदेशअनुसार कैद बाँकी रहेका व्यक्तिहरूलाई कारागार पठाइएको र जरिवाना मात्र बाँकी रहेका व्यक्तिबाट जरिवाना असुल गरी छाडिएको बताए ।  उनका अनुसार पक्राउ परेकाहरूबाट २४८ वर्ष १० महिना १४ दिन कैद र रु सात करोड २७ लाख २४ हजार ८२१ बराबरको जरिवाना असुल गरिएको छ । 

पक्राउ परेका फरार प्रतिवादीहरूमा भद्रपुर–८ का ४८ वर्षीय खेमराज पोखरेल रहेका छन्, उनलाई सर्वोच्च अदालतले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको थियो । यस्तै, मेचिनगर–७ का ३२ वर्षीय प्रदीप राईलाई उच्च अदालत विराटनगर, इलाम इजलासले जबर्जस्ती करणी र चोरी मुद्दामा दोषी ठहर गरी २०७२ सालमा १० वर्ष कैद हुने फैसला गरेको थियो ।

यसैगरी, पक्राउ पर्ने बिर्तामोड–८ का ३० वर्षीय अमिरलगुन विश्वकर्मालाई उच्च अदालत पाटनले राजस्व चुहावट मुद्दामा एक वर्ष दुई महिना १५ दिन कैद र रु दुई करोड ८४ लाख ५८ हजार ६०५ जरिवाना हुने फैसला गरेको थियो । फैसला कार्यान्वयन अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने योजना अघि सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?