बर्खाको मौसममा सर्पदंशको जोखिम बढ्दो, कसरी जोगिने ?

लोकपथ
343
Shares

काठमाडौं । गर्मी र बर्खाको मौसममा सर्पदंशको जोखिम बढ्ने गर्दछ ।

विशेषतः तराई क्षेत्रमा सर्पदंशको जोखिम अत्यधिक रहने गर्दछ । तराई क्षेत्रमा सर्पको टोकाइबाट धेरै जना घाइते र ज्यानैसम्म गएका घटनाहरु छन् ।

तराईमा मात्र होइन पहाडी क्षेत्रमा समेत सर्पको जोखिम बढिरहेको छ । सर्पले आक्रमण गर्ने हेतुले वा शिकारका लागि मानिसलाई नटोक्ने अध्ययनले देखाएको छ । उसले आफ्नो ज्यान खतरामा परेको महसुस गरेमा मात्रै मानिसलाई झम्टिने र टोक्नेसम्म गर्छ ।

त्यसो त विश्वमा पाइने सबै सर्प भने विषालु हुँदैनन् । बहुसंख्यक सर्पहरुले टोके पनि विष नलाग्ने हुन्छन् तर केही भने अति नै जोखिमपूर्ण र विषालु हुने गर्दछन् । सरकार र विशेष गरी स्थानीय तहले त्यसबारे पहल नगर्दा त्यस्ता विषालु सर्पको टोकाइमा मानिस पर्ने र त्यसले ज्यानैसम्म गइरहेको छ ।

व्यक्ति स्वयंले पनि सामान्य सावधानी अपनाउन सकेमा सर्पदंशबाट बच्न सकिन्छ । नेपाल प्रहरीले समेत सर्पदंशको जोखिम बढेपछि त्यसबाट बच्न केही उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।

सर्पको जोखिमबाट बच्न के गर्ने त ?

–खुट्टा राम्रोसँग ढाक्ने वा जुत्ता लगाएर मात्र हिँड्ने गर्नुपर्दछ ।

–झाडी, भकारी, गोठ वा ढुंगामुढा भएका ठाउँमा हिँड्दा सचेतता अपनाउने ।

–खेतबारीमा काम गर्दा पाइन्ट र लामो बाहुला भएको कपडा लगाउने ।

–बर्खाको समयमा हिलोमा काम गर्दा सहज हुने किसिमको बुट लगाउने ।

–रातको समयमा कतै जानुपरेमा बत्ती बालेर मात्रै हिँड्ने ।

–जुत्ता लगाउँदा पहिले जुत्ताभित्र सर्प छ वा छैन हेरेर मात्रै लगाउने ।

–सुत्नुअघि बिस्तारा, ओछ्यान र वरिपरिका क्षेत्रहरु राम्ररी निरीक्षण गरेर मात्रै सुत्ने ।

–यदी सर्पले टोकेमा वा सर्पदंश भएमा नजिकको स्वास्थ्य संस्था वा अस्पताल जाने ।

–यदी घर, गोठ वा कुनै ठाउँमा सर्प पसेमा त्यसलाई अनुभवी ‘रेस्क्यू’ गर्ने मान्छेको सहायताले निकाल्ने ।

–बर्खाको समयमा बच्चाहरुलाई झाडी वा अन्य ठाउँमा खेल्न नदिने र सुत्ने बेलामा सधैँ झुलको प्रयोग गरेर सुत्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?