अब काठमाडौंका सडकमा गुड्नेछन् महानगर यातायातका विद्युतीय बस

लोकपथ
15.4k
Shares

काठमाडौं । महानगर यातायात प्रालिले विद्युतीय बस सेवाको सुरुवात गरेको छ । प्रालिले आजैदेखि काठमाडौंको चक्रपथमा गुड्ने गरि चेरी एण्ड बण्डा ब्राण्डको १२ वटा विद्युतीय सिटी बसको सेवा सुभारम्भ गरेको हो ।

चिनीयाँ बस उत्पादक कम्पनी चेरी एण्ड बण्डाको नेपालका लागि आधिकारिक बिक्रेता शशीला मोटर्स प्रालिले बुधबार काठमाडौंमा आयोजित एक समारोहमा महानगर यातायातलाई बसको चाबी हस्तान्तरण गरेको छ ।

सो अवसरमा विद्युतीय बस सेवाको औपचारिक उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले महानगर यातायातले सार्वजनिक यातायातको क्षेत्रमा गरेको पहल सहरानीय भएको बताए ।

काठमाडौंमा साना सवारीसाधनहरुलाई दुरुत्साहन गरी यस्ता ठूला बसहरुलाई प्रोत्साहन गर्नु आफ्नो प्राथमिकता रहेको भन्दै मन्त्री दाहालले महानगर यातायातलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

सार्वजनिक यातायात र सडक पूर्वाधारको स्तर उन्नतीतर्फ आफू केन्द्रित रहेको उनको भनाइ थियो ।

कार्यक्रममा महानागर यातायात प्रालिका कार्यकारी अध्यक्ष सन्तोष खतिवडाले विश्वब्यापी रुपमा आइरहेको विद्युतीय गाडीको लहर र नेपालको सन्दर्भमा त्यसको व्यवहारिक पक्षको अध्ययन पश्चात विद्युतीय बसहरु भित्र्याएको जानकारी दिए । अहिले सेवा सुभारम्भ गरिएका विद्युतीय बसहरु नेपालको सडक पूर्वाधार सुहाउँदो भएको र निकट भविष्यमै यस्ता विद्युतीय बसहरुको संख्या बढाउने योजनामा रहेको अध्यक्ष खतिवडाको भनाइ थियो ।

उनले विद्युतीय बसहरु वातावरणमैत्री र यात्रुमैत्री मात्रै नभएर व्यवसायीका लागि समेत लाभदायी हुने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा शशीला मोटर्सका महाप्रबन्धक अशोकराज सुवेदीले महानगर यातायातलाई आज हस्तान्तरण गरिएको विद्युतीय सिटी बसहरु नेपालको पूर्वाधारको अध्ययन पश्चात मात्रै ल्याइएको जानकारी दिए । बस उत्पादक चिनियाँ कम्पनी चेरी एण्ड बण्डाको रिसर्च एण्ड डेभलपमेन्ट टिम नेपालमै आएर यहाँको सडकको अध्ययन गरेपछि नेपालकै लागि बनाइएको बस भएको हुनाले व्यवसायीको हितमा र यात्रुमैत्री रहेको उनको दाबी छ ।

आज देखि संचालनमा आएको उक्त विद्युतीय बस ८ दशमलव ६५ मिटर लम्बाइका छन् । जुन बसमा ३२ जना यात्रुका लागि आरामदायी सिटका साथै ३५ जना सम्म यात्रु उभिएर जम्मा ६७ जना यात्रु क्षमता रहेको छ भने चालकका लागि छुट्टै कुनै अवरोध नहुने गरी चालक क्याविनको व्यवस्था गरिएको छ । बसमा अत्याधुनिक फोल्डिङ एडजस्टेवल आरामदायी सिट प्रदान गरिएको छ ।

चालक क्याविनमा दिइएको स्क्रिनमा बसमा भएका सम्पूर्ण गतिविधिहरु सात वटा सिसिटिभी क्यामरा मार्फत नियाल्न सकिने भएकोले सुरक्षित रहेको बताइएको छ ।

बसमा डवल एयर सप्सेन्सन रहेको हुनाले यात्रुहरुलाई आरामदायी यात्रा सुनिश्चित हुनेछ । जसले सडकमा भएका खाल्डाखुल्डीहरुमा पनि सजिलै यात्रा गर्न सकिनेछ भने यात्रुहरुलाई लामो दुरीको यात्रामा पनि कुनै थकान नहुने कम्पनीको दाबी छ । दश वर्षदेखि काठमाडौंमा संचालित महानगर यातायातले यसअघि ८९ वटा बसमार्फत सेवा दिइरहेको थियो ।विद्युतीय सेवा विस्तारसँगै महानगर यातायातको बस संख्या १ सय १ पुगेको छ । महानागर यातायातले यस अघि नै निकट भविश्यमै आफूलाई पब्लिक लिमिटेड कम्पनी बनाउने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?